नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालमै मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन गर्न सम्भव हुने विज्ञहरुले बताएका छन् । जिवित रहँदा कसैले आफ्नो मृत्यु पश्चात अंगदान गर्न सहमती जनाएमा यस्तो सुविधा भेरी अस्पतालले दिन सक्ने उनीहरुको जोड छ ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु पश्चात पनि कतिपय अंग काम लाग्ने भएकाले अंगदान गर्न सकिने बताए । ‘कसैले आफ्नो अंग दान गर्ने सहमती जनाउनु भयो भने मस्तिष्क मृत्यु पश्चात हामीले मृतकको अंग निकालेर अर्को ब्यक्तीलाई दिन सक्छौं, जसले अंग पाएपछि पुर्नजन्म पाउनेछ,’ उनले भने । अंगदान गर्ने प्रचलन पछिल्लो समयमा क्रमशः बढ्दै गएको निर्देशक श्रेष्ठ बताउँछन् ।
मस्तिष्क मत्यु पश्चात दान गरेको अंग अर्को ब्यक्तीमा प्रत्यारोप गरेर केन्द्रले धेरैको ज्यान बचाएको उनले सुनाए । ‘जिवित अवस्थामा पनि कसैले मृगौला, कलेजो जस्ता अंग दान गर्न सक्छन्, तर जिवित अवस्थामा सबैले जो कोहीका लागि दान गर्दैनन्,’ श्रेष्ठले भने ‘मस्तिष्क मृत्यु पश्चात अंग दान गर्ने कसैले सहमती दिन्छ भने भेरी अस्पतालमै अंग प्रत्यारोपन गर्न सकिन्छ ।’ तर, अंगदान र प्रत्यारोपको काम निश्चित समयभित्र गरिसक्नुपर्ने उनको भनाई छ ।

अस्पतालले मंगलबारदेखी मृगौला प्रत्यारोपन सेवा सुरु गरिसकेको छ । केन्द्रसँगको सहकार्यमा अस्पतालले दुई जना बिरामीको मृगौला प्रत्यारोपन गरेको हो । केन्द्रले नेपालगन्जमा मंगलबार बेलुका गरेको मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले विभिन्न जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ केन्द्रका निर्देशक श्रेष्ठले दिएका थिए ।
कार्यक्रमको सहजीकरण भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीले गरेका थिए । कार्यक्रममा भेरी अस्पतालका पुर्वमेसु, विशेषज्ञ चिकित्सक, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, खेलाडी, सञ्चारकर्मी लगायत सहभागी भएका थिए ।
यो पनि पढ्नुस् :
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन