नेपालगन्ज : नेपालगन्जका महिलाहरुका लागि १५ दिने झोला निर्माण तालिम एक कार्यक्रमको आयोजना गरि शुरु गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ, बाँके नेपालगन्ज उपमहानगरपालिका समन्वय परिषद्को समन्वय र सहकार्यमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेले झोला निर्माण सम्बन्धिको तालिम शुरुवात गरेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख कृष्णबहादुर विष्टको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ बाँके शाखाका अध्यक्ष डम्बर बहादुर थापामगरको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
सो तालिममा नेपालगन्ज उपमहानगरपालिका र केही डुडुवा गाउँपालिकाका ४० जना जनजाती महिलाहरुको सहभागिता रहनेछ । विशेषगरी महिलालाई स्वरोजगार, आत्मनिर्भर तथा उनीहरुको सीपको प्रस्फुटन गराउनका लागि झोला निमार्णसम्बन्धिको सीपमुलक तालिम आयोजना गरिएको महासंघ नेपालगन्ज उपमहानगर समन्वय परिषदका अध्यक्ष भुमण्डल श्रेष्ठले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा अग्रज तथा वरीष्ठ पत्रकार हेमन्त कर्माचार्य, नेपाल आदिवासी जनजाती महासंघ बाँकेका महासचिव राजन बहादुर राना, लोकतान्त्रिक आदिवासी जनजाती संघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, महासंघ कोहलपुर समन्वय परिषद्का अध्यक्ष कृष्णबहादुर पुन लगायतले सीपमुलक कार्यले महिलाहरुलाई अतिरिक्त आय-आर्जनमा सहयोग पुग्ने बताएका थिए ।
उनीहरुले चुलाचौकामा मात्र सिमित महिलाको क्षमता अभिवृद्धि गरि आयआर्जनमुलक कार्यमा सहभागी गराउँदा स्वरोजगार हुनुका साथै आर्थिक सुधारतर्फ सहयोग पुग्ने धारणा राखेका थिए । नेपाल आदिवासी जनजाती महासंघ नेपालगन्ज उपमहानगर समन्वय परिषद्की वरीष्ठ उपाध्यक्ष अमृता दर्लामी मगरले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको उद्घाटन शत्र ममता थापा मगरले सञ्चालन गरेकी थिइन् ।
दुई चरणमा सञ्चालन हुने झोला बनाउने तालिममा नेपालगन्ज र डुडुवा गाउँपालिकाका ४० जना जनजाती महिलाहरुको सहभागिता रहनेछ । प्रदेश सरकार क्षेत्र विकास कोष अन्र्तगत प्रदेश सांसद माया पुनको पहलमा झोला बनाउने तालिम आयोजना गर्न सफल भएको महासंघ नेपालगन्ज उपमहानगर परिषद्का अध्यक्ष भुमण्डल श्रेष्ठले जानकारी दिए ।
तालिमबाट अन्तरनिहित महिलाको क्षमता प्रस्फुटन गर्न, सीप सिकाईमा अब्बल गराउन, व्यवसायिक ज्ञानतर्फ अग्रसरता गराउन, रोजगारीको अवसर सिर्जना गर्नुका साथै आर्थिक उपार्जनमा जोड दिनका लागि तालिम आयोजना गरिएको हो । यसबाट केही भएपनि प्लास्टिक र प्लास्टिक जन्य सामाग्रीलाई विस्थापित गराउने उद्देश्य रहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख कृष्णबहादुर विष्टले बताए ।