बाँके(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा वडा स्तरीय समुदाय प्रहरी साझेदारी समिति बनाइएको छ । वडाअध्यक्ष झगरु थारुको संयोजकत्वमा १५ सदस्यीय वडा स्तरीय समुदाय प्रहरी साझेदारी समिती गठन गरिएको हो ।
शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान अपरिहार्य भएको भन्दै नेपाल प्रहरीले करिव ७ वर्ष अगाडी अभियान सुरु गरेको थियो । वडा, पालिका तथा जिल्लामा यसअघि समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको भएपनि क्रियाशिल नरहेकाले पुनः गठन गरिएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज, प्रहरी वरिष्ठ नायव निरीक्षक बालबहादुर घर्तीमगरले जानकारी दिए ।
दुईदिन अगाडी राप्ती सोनारी ३ नम्बर वडामा पनि वडा अध्यक्ष मिनकुमार थारुको संयोजकत्वमा प्रहरी साझेदारी समिति गठन गरिएको थियो । अब छिट्टै ४ नम्बर वडामा पनि समिति गठन गर्ने तयारीमा रहेको ईन्चार्ज घर्तीमगरले बताए । वडा अध्यक्षको संयोजकत्वमा गठन गरिने र उक्त समितिमा वडा सदस्यहरु, वडा सचिव, आमा समूह, नागरिक समाज, समाजसेवी, संघ संस्थाका पदाधिकारी, विभिन्न क्लबमा आवद्ध युवाहरु लगायतलाई समेटिने गरिएको छ ।
समाजमा विभिन्न खाले अपराधका घटना बढेको र अपराध नियन्त्रणमा प्रहरीले मात्रै त्यसको नियन्त्रण गर्न नसकिने भन्दै हरेक समुदायको साथ सहयोग जरुरी रहेको महसुस गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको हो ।
अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्ने नेपाल प्रहरी र स्थानीय तहको बीचमा सम्बद्ध सरोकारवालाहरुलाई समेत समेटी संस्थागत साझेदारी निर्माण गर्ने प्रहरी ईन्चार्ज घर्तीले बताए ।
वडास्तरको समितीले समाजमा हुने झै झगडा, घरेलु हिंसा, वालविवाह, मान बेचबिखन लागू औषध दुब्र्यसन नियन्त्रण लगायतका कार्यमा प्रहरीलाई सघाउने उनको भनाई रहेको छ ।