नेपालगन्ज : बाँकेका अधिकांस पत्रकारको आँखामा दूरदृष्टिको समस्या देखिएको छ । पत्रकारहरुको निःशुल्क आँखा जाँच गर्ने क्रममा यस्तो समस्या पत्ता लागेको हो । गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगन्जको आयोजना एवम नेपाल पत्रकार महासंघ बाँकेसँगको सहकार्यमा जिल्लाका १ सय ९४ जना पत्रकारको आइतबार निःशुल्क आँखा जाँच गरेको थियो ।
नेपालगन्ज ४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा जाँच कार्यक्रममा ९१ जनालाई निःशुल्क चश्मा र औषधि वितरण गरियो । चौथो गौरव स्मृति दिवसको अवसरमा आयोजित आँखा जाँचको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष मधु शाहको अध्यक्षता एवम नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले पत्रकारहरुले कम्प्युटर, ल्यापटप, मोबाइलमा काम गरिहनुपर्ने भएकाले आँखाको ख्याल गर्नुपर्ने बताए । संस्थाका संरक्षक प्रदिप शाहले संस्थाले विगतदेखि नै सामाजिक र मानवीय कार्यहरु गर्दै आएको जानकारी गराउँदै पत्रकारहरुको आँखा जाँच गर्ने वातावरण निर्माण भएकोमा खुसी ब्यक्त गरे ।
स्वर्गीय गौरब शाहले सञ्चालन गरेको संस्थालाई आफूहरुले निरन्तर अघि बढाएको बताउँदै संरक्षक शाहले परोपकारी भावनाले प्रेरित भएर सामाजिक कामहरु गर्दै आएको उल्लेख गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, समाजसेवीहरु हरिष गुप्ता, शिव कुमार बर्मा लगायतले स्वर्गीय गौरबले संस्थामा गरेको योगदानको चर्चा गर्दै संस्थाले गरिरहेको सामाजिक कामहरुको प्रशंसा गरेका थिए ।
दृष्टि विशेषज्ञद्वय तिलक शाह र नवीन कनोजिया नेतृत्वको टिमले आँखा चेकजाँच गरेको थियो । गौरबको चार बर्षअघि निधन भएको थियो । उनको स्मृतिमा आँखा जाँच गरिएको हो । फाउण्डेशनले विगतमा पत्रकारलाई सहयोगसँगै उनीहरुको हकहितका लागि पनि काम गर्दै आएको संस्थाका संरक्षक शाहले बताएका छन् ।
फाउण्डेशनले फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको ‘लिटल एण्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५’ मा प्रथम पुरस्कार बिजेता नेपालगन्जकी मोनिका कठायतलाई सम्मान पनि गरेको छ । दुई वर्षअघि पनि फाउण्डेशनले स्वर्गिय पत्रकार लक्ष्मण सापकोटाको परिवारलाई सहयोग प्रदान गरेको थियो ।