नेपालगन्ज : नेपाली काँग्रेसका सह-महामन्त्री तथा प्रतिनिधी सभाका सांसद किशोर सिंह राठौरले पद, पैसा र पावर अस्थायी भएकाले यसका लागि नैतिकता नबेचेको बताएका छन् । ४३ औं वीपी स्मृति दिवसका सन्दर्भमा नेपाल किसान महासंघ, खजुरा गाउँपालिका कार्यसमितिको आयोजनमा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले यस्तो बताएका हुन् ।
४० वर्षे आफ्नो राजनीतिक यात्रामा झुटो नबोलेको, कसैलाई नठगेको जनाउँदै काँग्रेस महामन्त्री राठौरले भने, ‘वीपीले हामीलाई असल मान्छे बन्नु भनेर सिकाउनु भएको छ, त्यसैले नैतिकता बेचेर गरिने सौदाबाजी ब्यक्ति, समाज र राष्ट्रका लागि घातक हुन्छ, मैले बेचेको छैन बेच्दिन पनि ।’ आफू ठिक भए सबै ठिक हुने बुझेको बताउँदै सहमहामन्त्री राठौरले अगाडी भने ‘पैसा, पद र पावरका लागि किशोर सिंह राठौरले नैतिकता बेच्दैन, बरु राजनीति छोडेर मानपुर (बर्दिया घर)मा आलु खेती गर्छ, जय नेपाल भन्छ ।’ पार्टीको विधान, विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गर्न कसैलाई छुट नभएको स्मरण गराउँदै उनले भने, ‘पछिल्लो समय पार्टीभित्र अन्तरद्वन्द्वका कारण एकले अर्कालाई स्वीकार्न सकेका छैनन, एकले अर्कालाई सिध्याउन लागि परेका छन् ।’
किसान महासंघ, खजुरा गाउँपालिका कार्यसमितिका अध्यक्ष मनबीर क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधान सभा सदस्य एवम लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी, प्रदेश सासंद मिना सिद्दीकी, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारु, जिल्ला सचिव महेन्द्र मल्ल, नेपाली काँग्रेस क्षेत्र नम्बर-३ का सभापती नक्की खाँ, किसान महासंघ क्षेत्र नम्बर-२ का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य नरेन्द्र थापा लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।