देउखुरी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तीज) पर्वलाई महिला सशक्तिकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताएका छन् । महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने कार्य यस पर्वले गर्दै आएको उनले उल्लेख गरेका हुन ।
‘तीज पर्व विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत असमानताहरूको अन्त्य गर्दै न्याय, समानता र समतामूलक समाज निर्माणतर्फ प्रेरित गर्ने पर्वका रूपमा स्थापित छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘त्यसैले तीजलाई अवसरका रूपमा उपयोग गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’
महिलाले आफ्ना दुःख, पीडा र खुसी साझा गर्ने भएकाले तीजले सामूहिकता, आत्मबल र आपसी एकता बलियो बनाउन ठूलो योगदान पुर्याउँदै आएको छ । मुख्यमन्त्री आचार्यले तीजलाई केवल धार्मिक मात्र नभई सामाजिक दृष्टिले समेत महत्वपूर्ण चाडको रूपमा व्याख्या गरेका छन् ।
मौलिक पर्वको सांस्कृतिक गरिमा जगेर्ना गर्दै यसलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले तीज मनाउने क्रममा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै यसको मौलिकता र सांस्कृतिक महत्व जोगाउन आग्रह गरेका छन् ।
नेपाली महिलाहरूको महान् चाड हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समाज रूपान्तरणकोलागि तीज पर्व प्रेरणादायी बन्नुपर्ने विश्वास व्यक्त गरे ।