नेपालगन्ज : दूरसञ्चार मिडिया नेटवर्क प्रा.लि.को अनलाइन समाचार पोर्टल दूरसञ्चार डटकम शुक्रवार(आज) पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७८ असोज ३ गते अर्थात् आजकै दिन कम्पनीले अनलाईन समाचार पोर्टल औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । सामाजिक, राजनीतिक, आर्थिक लगायत विविध सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिलाई दूरसञ्चार डटकमले पुरा गरेको छ ।
अनलाईन समाचार पोर्टल सञ्चालन गरिएको छोटो अवधिमा आदरणीय पाठकको मन जित्न सफल भएको तथ्य पाठकसँग बाँड्न पाउँदा हामी निकै उत्साहित छौं । अनलाईन पोर्टल प्रकाशनको छोटो अवधिमा यहाँहरूले हामीप्रति देखाउनुभएको सद्भावले हामीलाई जीवन्त ऊर्जा मिलेको छ ।
लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता र जनअधिकारका लागि हामी अझै सशक्त रूपमा यहाँहरूमाझ आउने प्रण गर्दछौँ । ऊर्जाशील युवा पुस्तालाई सम्भावनाको बाटो देखाउने र उनीहरूको ऊर्जालाई सही बाटोमा प्रयोग गर्न अभिप्रेरित गर्ने दिशामा हाम्रो यात्रा अझ सशक्त रूपमा अघि बढ्नेछ ।
नवीन सोच र अर्जुन दृष्टिको उपज हो, दूरसञ्चार डटकम । २१ औँ शताब्दीका नयाँ पुस्तादेखी सबै तह, तप्का र उमेर समूहका पाठक हाम्रो प्राथमिकतामा पर्नुहुन्छ । दूरसञ्चार डटकम पाँचौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामी यस अनलाईन पोर्टललाई पठनीय बनाउन निरन्तर खटिने सम्पादकीय टिमलाई धन्यवाद दिन चाहन्छौं ।
आगामी दिनमा पनि पाठकको निरन्तर सहयोग र सद्भावको अपेक्षा गर्दछौं । संविधान दिवस–२०८२ को उपलक्ष्यमा सम्पूर्ण पाठक वर्ग, विज्ञापनदाता तथा शुभचिन्तकहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।