नेपालगन्ज : गत साउनमा जुम्लाकी १७ वर्षीया रिता (नाम परिवर्तन)को एक जना युवकसँग फेसबुकमा चिनजान भयो । रिताका बुवा र आमा मजदुरीका लागि भारतमा थिए । घरमा बसेर भाई बहिनीको रेखदेख गर्ने उनको जिम्मेवारी थियो । भारतमै मजदुरी गर्न पुगेका एक जना अपरिचित युवक रितासँग फेसबुकमा नजिकिदै गए ।
बिबाहित युवक र रिताबीच माया प्रेम सम्बन्धी कुराकानी हुन थाल्यो । युवकले आफु अविवाहित रहेको र विवाह गरेर रितालाई भारत शहरमा सुखसँग बसाउने सपना बाँड्न थाले । सामाजिक सञ्जालमार्फत ति युवक रितासँग नजिक हुदै गए । यसैक्रममा युवकले एक दिन रितालाई जुम्लाबाट नेपालगन्ज बोलाए र आफु भारतबाट नेपालगन्ज आईपुगे । दुबै जनाबीच भेटघाट भयो ।
युवकले रितालाई काठमाडौं लगेर केही दिनसम्म बसाए । काठमाडौंबाट पुनः नेपालगन्ज ल्याएर युवकले आफ्नी अन्टी नाता पर्ने एक जना महिलामार्फत भारत पुर्याउने योजना बनाए । अनेक प्रलोभन र दवावमा राखेर रितालाई युवकले सिमा नाकामा चेकजाँच हुँदा झुट्टो बोल्न सिकाएका थिए । नेपालगन्जबाट भारतको रुपैडिहा जादैं गर्दा रिताको शंकास्पद ब्यवहार देखेपछि माइती नेपालका कर्मचारीले सिमाबाटै उद्धार गरे । रिता सिमा नाकामा पुग्दा युवक भने पहिल्यै भारतीय बजार रुपैडिहा पुगिसकेका थिए । रितालाई भारत पुर्याउन प्रयोग भएकी महिला पनि सिमाबाटै फरार भईन् ।
माइती नेपालले रितालाई केहीदिन सम्म आफ्नो गृह (सेल्टर)मा राख्यो र उनलाई धेरै दिनसम्म परामर्श दियो । तब मात्र रिता आफु सामाजिक सञ्जालको दुरुपयोगले भारतमा झण्डै बेचिनबाट जोगिन सफल भएको कुरा थाहा पाइन् । माइती नेपालले अभिभावकलाई जिम्मा लगाएर रिताको परिवारमा पुर्नस्थापना गरायो । बाँके जिल्ला अदालतमा ति युवक विरुद्ध मानव बेचविखन तथा ओसार पसार र जवरजस्ती करणी सम्बन्धी मुद्दा चलिरहेको छ । प्रहरीले आरोपी युवकलाई खोजी गरिरहेको छ ।
यो एउटा प्रतिनिधिमुलक घटना मात्र हो । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरेर मानव दलालले नेपाली महिला तथा बालबालिकालाई यौन, श्रम शोषण जस्ता काममा लगाउन लैजाने गरेका छन् । मानव दलालले फेसबुक, टिकटक, ह्वाट्सएप, इमो, स्न्यापच्याट जस्ता सामाजिक सञ्जालमा जोडिएर महिला तथा बालबालिकासँग चिनजान गर्ने र उनीहरुलाई भारत लगायतका देशमा पुर्याउने गरेका हुन् ।
फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालबाट चिनजान गरी भारत पुर्याउने मानव दलालको सञ्जाल अहिले गाउँका कुना–कुनासम्म पुगेको पाइएको छ । बैदेशिक रोजगारीमा राम्रो तलब दिलाईदिने आश्वासन दिएर मानव दलालहरुले उनीहरुलाई नेपाल–भारतस्थित विभिन्न नाकाबाट विदेशमा पुर्याइरहेको विभिन्न घटनाहरु बाहिर आएका छन् ।
लामो समयदेखी मानव बेचविखन तथा ओसार पसार विरुद्ध काम गर्दै आएको माइती नेपालले मात्र विगत एकवर्ष यता जोखिमपूर्ण यात्रामा रहेका ४ सय ६४ जना महिला तथा बालबालिकालाई उद्धार गरिसकेको छ । २०८२ साउन देखी २०८३ असार मसान्तसम्म यि मध्ये १८ वर्ष मुनिका बालिका २ सय ३०, १८ वर्षभन्दा माथीका महिला २ सय २२ र १८ वर्षभन्दा मुनिका बालक १२ जना रहेका छन् ।
माइती नेपालले भारतमै बेचिएका महिला तथा बालबालिकालाई पनि उद्धार गरेर फर्काएको छ । सामाजिक सञ्जालबाट चिनजान गरी प्रेमको नाटक गरेर भारत पुर्याइएका उनीहरुलाई त्यहाँ लगेर यौन कार्यमा लगाउने र आफुले मोटो रकम असुल्ने गरेको पाइएको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइराला बताउँछन् ।
‘पछिल्लो समयमा प्रविधिको विकाससँगै भित्रिएका सामाजिक सञ्जालको दुरुपयोगले गर्दा महिला र बालबालिकालाई प्रलोभनमा पारेर, डरधम्की दिएर भारत लैजाने गरेका छन्,’ कोइरालाले भने, ‘सामाजिक सञ्जालका कारण शिक्षित परिवारभित्रका महिला र बालबालिका पनि पीडित भएका छन् ।’
मानव बेचविखन तथा ओसार पसार नियन्त्रण विरुद्ध पालिका र वडा स्तरका संरचनासँग समन्वय गरेर आफुहरुले काम गरिरहेको उनले बताए । ‘बिद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम, सिमा नाकामा सूचना प्रवाह र भारतीय संयन्त्रणमार्फत हामीले उद्धारको काम गरिरहेका छौं,’ कोइरालाले भने, ‘उद्धार गरिएका महिला तथा बालबालिकालाई उचित परामर्शमार्फत पारिवारीक पुर्नस्थापनाको काम पनि गरेका छौं ।’
भिडियो हेर्नुस् :
लामो समयदेखी मानव बेचविखन तथा ओसार पसार, लंैंगिक हिसा विरुद्ध काम गर्दै आएको साथी संस्थाले भारतमा यौन तथा श्रम शोषणमा परेका महिला तथा बालबालिकालाई समय–समयमा उद्धार गरेर पारिवारीक पुर्नस्थापना गराउँदै आएको छ । जोखिमपूर्ण यात्रामा रहेका महिलालाई उद्धार गरेर साथी संस्थाले नेपालगन्जस्थित आफ्नो गृहमा राख्छ । साथीको सेल्टरमा अहिले ५ जना महिलाले आश्रय लिइरहेका छन् ।
साथी संस्थाकी पवित्रा बोहरा पछिल्लो समयमा बढ्दो सामाजिक सञ्जालको प्रयोगले चुनौती बढाइरहेको बताउँछिन् । ‘सामाजिक सञ्जालबाट दलालले राम्रो काममा लगाईदिन्छु भनेर झुक्याएर लगिरहेका छन्, यसलाई रोकथाम गर्न एकदमै चुनौती छ,’ उनले भनिन्, ‘पहिला फेसबुक, टिकटक, वाट्सएप, इमो जस्ता सामाजिक सञ्जालबाट साथी बनाउने र पछि फकाएर भारत पुर्याउने गरेको पाइएको छ ।’ महिला तथा बालबालिकालाई भारतबाट उद्धार गरेर ल्याएपछि पारिवारीक र सामाजिक रुपले पुर्नस्थापना गर्न ठुलो समस्या रहेको पवित्राले सुनाइन् ।
नियमित बस्दैन जिल्ला समितिको बैठक
मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि सरकारले राष्ट्रिय समिति र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समिति बनाएको छ । समितिलाई मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धमा संघ संस्था परिचालन, जिम्मेवारी बाँडफाँट तथा आवश्यक समन्वयन लगायतका काम गर्ने जिम्मा छ ।
सरकारले विभिन्न नाकामा चेकजाँच कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत खटाएको छ । मानव बेचविखन तथा ओसार पसार नियन्त्रण कार्यमा लागेका संघ, संस्थाले नियमित रुपमा नाकामा निगरानी गर्ने, शंकास्पद ब्यक्तिलाई सोधपुछ गर्ने, परामर्श दिने, नेपाल तथा भारतका सुरक्षाकर्मीसँग समन्वय सम्बन्धी काम गर्ने, सामाजिक सञ्जालमा निगरानी बढाउने जस्ता कामहरु गरिरहेका छन् ।
तर, जिल्ला रहेको समिति निस्कृय जस्तै बनेको छ । स्रोतका अनुसार लामो समयदेखी जिल्ला समितिको बैठक नियमित बस्न सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी अमर ओलीले मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी काम गर्ने ९ वटा संस्थाको प्रगति प्रतिवेदन माग्ने काम गरिएको बताए । चालु आर्थिक वर्ष सुरु भएयता समितिको बैठक नबसेको उनले सुनाए । ‘हामीले मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी काम गर्ने ९ वटा संस्थाको प्रगति प्रतिवेदन मागेका छौं, अब छिट्टै बैठक बसेर योजना बनाउँछौं,’ सहायक प्रजिअ ओलीले भने ।
एकै नाकामा संघ, संस्थाको ओइरो
मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी काम गर्नका लागि भन्दै करिव एक दर्जन जति संघ, संस्थाहरु नेपालगन्ज नाकामा खटिरहेका छन् । तर, उनीहरुको कार्यशैली र भूमिकामाथी नै प्रश्न उठ्ने गरेको छ । बाँकेमा ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको खुल्ला सिमानाका रहेको छ । यि स्थानबाट जुनसुकै समयमा पनि मानव दलालले महिला तथा बालबालिकालाई प्रलोभनमा पारेर भारत पुर्याउन सक्छन् ।
जिल्लाका अन्य अबैध नाकामा संघ संस्थाहरुको उपस्थिती देखिदैन । तर, नेपालगन्ज नाका मात्रै संघ, संस्थाको ओइरो लागेको छ । २०७३ माघ ६ मा तत्कालिन बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्तको पालामा बसेको मानव बेचविखन तथा ओसार–पसार नियन्त्रण जिल्ला समितिको बैठकले माइती नेपाल र साथी संस्थालाई मात्र नेपालगन्ज नाका(जमुनाहा) तथा बाँकी संघ, संस्थालाई अन्य नाकाहरु तथा बसपार्क लगायत स्थान नै तोकिदिएको थियो । तर, संघ संस्थाले जिल्ला समितिको निर्णयलाई अहिलेसम्म टेरेका छैनन्् । ति संघ, संस्थाहरु अन्य नाकामा नपुग्दा मानव दलाललाई महिला तथा बालबालिकालाई भारत पुर्याउन सहज भइरहेको स्रोतले जनाएको छ ।
कानुन संशोधनको आवश्यकता
नेपाल सरकारले मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी कानुनहरु बनाउनुपर्ने आवश्यकता देखिएको छ । प्रविधिको विकास भएसँगै मानव तस्करी गर्ने स्वरुप परिवर्तन भएको छ । तर, पुरानै कानुन प्रयोगमा आउँदा नियन्त्रण सम्बन्धी काम गर्न समस्या भइरहेको सम्वद्ध सरोकारवाला बताउँछन् ।
‘मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ संसदमा संशोधनका लागि गईसकेको छ, आशा गरौं यो ऐनमा धेरै कुरा समेटेर आउनेछ,’ कोइरालाले भने, ‘नीति अनुसार राज्यका निकायलाई जिम्मेवारी प्रदान गरिएको छ, संरचना गठन गरिएको छ , तर ति संरचनाबाट काम हुन सकेको छैन ।’