काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफू कुनै शाशकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री नभएको प्रष्ट पारेकी छन् । देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधका आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको उनको भनाई छ ।
संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडीखेलमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताइन् ।
जेन–जी पुस्ताको आन्दोलन, विगतका प्रतिबद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा हामी खरो उत्रिन नसक्नुको परिणाम भएको पनि प्रधानमन्त्री कार्कीले जोड दिइन् । वर्तमान सरकार युवापुस्तासहित सबै नागरिकका आशा र अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको पनि बताइन् ।
‘अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवापुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरु यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन्, यि एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ,’ उनले भनिन् ।
उनले नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइन् ।