काठमाडौं : जेन-जीका नामबाट सुदन गुरुङको टोलीले प्रहरीलाई धम्क्याएपछि बालुवाटारमा प्रधानमन्त्रीसहित सुरक्षा संयन्त्रको गम्भीर बैठक बसेको थियो। बैठक राति अबेरसम्म बसेको छ ।
सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएपछि काठमाडौं प्रहरी परिसरले आफ्ना सबै वृत्तलाई हाइ अलर्टमा राखेको छ। प्रहरीले आफ्नो शक्तिलाई पनि एकत्रित गरेको छ। जेन-जी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेपछि गुरुङले ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै प्रहरीलाई धम्क्याएका थिए।
बालुवाटारमा प्रधानमन्त्रीसहित उच्च तहको बैठक बसिरहेको थियो। उक्त बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका महानिरीक्षक खापुङ, प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दानबहादुर कार्की र मनोज केसी तथा गृह मन्त्रालयका उच्च अधिकारीहरू संलग्न थिए।
कार्की नेतृत्वको सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ नामक संस्थाका संस्थापक गुरुङले सामाजिक सञ्जालमार्फत उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै सोमबार दिउँसो नै सामाजिक सञ्जालमा अभियान चलाएका छन्। ‘अहिले नै मुलुकलाई मुठभेडमा लैजाने हो भने मात्रै उजुरी दर्ता गरौं, होइन भने आयोगलाई काम गर्न दिऔं,’ प्रहरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। गुरुङ नेतृत्वको टोलीले आयोगमा पनि पुगेर धम्क्याएको थियो। ‘आयोगमा पुगेर ओलीलाई पनि पक्राउ गर्नुपर्यो भनियो,’ स्रोतले भन्यो।
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि बनाइएको जाँचबुझ आयोगले काम गरिरहेकाले प्रहरीले उजुरी लिनु भनेको मुठभेड निम्त्याउनु भएको हुँदा त्यसको सबै जिम्मा लिने गरी प्रधानमन्त्रीबाट लिखित आदेश आए जाहेरी लिने बताएको बालुवाटार उच्च स्रोतले जनाएको छ।
‘अहिलेको अवस्थाबाट सरकार अघि बढ्ने हो भने कुनै पनि सरकारी निकायले काम गर्न सक्दैन। भोलि मुठभेड भएमा र प्रहरीबाट गोली चलेमा त्यसको जिम्मेवारी लिने निकाय कुन हो भन्ने स्पष्ट आदेश र जानकारी चाहिन्छ,’ प्रहरीको भनाइ उद्धृत गर्दै बालुवाटारनिकट स्रोतले भन्यो।