काठमाडौं : नेकपा एमालेका निवर्तमान सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका छन् । एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएका थिए । उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका हुन् । ‘आजदेखि दस्तखत सुरु भएको छ ।
धेरै माननीयहरू जिल्लातिर हुनुहुनुन्छ । काठमाडौंमा उपलब्ध भएकाहरूको दस्ताखत सुरु भएको छ,’ विघटित प्रतिनिधिसभाका सदस्य हेमराज राइले भने । राईले तेस्रो नम्बरमा हस्ताक्षर गरेको पनि जानकारी गराए । विघटित प्रतिनिधिसभाका अर्का सदस्य रघुजी पन्तले पनि आफूले हस्ताक्षर गरेको जानकारी दिए ।
विघटित प्रतिनिधिसभाका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले पनि हस्ताक्षर गरेका छन् । स्रोतका अनुसार विघटित प्रतिनिधि सभाका २० सदस्यले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् । संकलित हस्ताक्षर कसरी प्रयोग गर्ने भन्नेमा एमालेका नेताहरूले प्रष्ट केही भनेका छैनन् ।
सांसदहरू निवेदन लिएर अदालत जाने कि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा भनेर मत प्रकट मात्रै गर्ने भन्ने प्रश्नमा नेताहरूले जवाफ दिएका छैनन् । हस्ताक्षरकर्ता राई भने, ‘प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा भनेर मत प्रकट गर्ने सम्भावना प्रबल छ ।’ विघटित प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौला आफूहरू प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् । यो माग लिएर सांसदहरू अदालत जानुपर्छ भन्नेमा पनि रहेको उनले बताए ।
उनी भन्छन् ‘सांसदहरू आफैं पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर जानुपर्छ भन्ने महसुस भएको छ । यो विषयमा हामी छलफलमै छौं ।’ एमालेका अर्का नेता भानुभक्त ढकाल प्रतिनिधिसभा विघटन असंवैधानिक रहेकोले पुनर्स्थापना हुनुपर्छ भनेर राजनीतिक रुपमा निर्णय नै लिइसकेको बताउँछन् ।
एमालेका अन्य कतिपय नेताहरूका अनुसार, प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सांसदहरू नै अदालत जानेबारे कांग्रेससँग समेत छलफल भइराखेको छ । कांग्रेसका नेताहरू भने केन्द्रीय समितिको बैठकको निर्णयपछि यो विषयमा पार्टीले औपचारिक निर्णय लिने बताउँछन् ।