काठमाडौं : वर्तमान सरकारमा महŒवपूर्ण तीन विकासे मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले सोमबार नयाँ पार्टीको घोषणा गर्दै छन् । कुलमाननिकट एक व्यक्तिका अनुसार सोमबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ । त्यसका लागि यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ ।
बढी सम्भावना भने नयाँ पार्टी दर्ताकै रहेको तिनले जानकारी दिए । नयाँ दर्ता गरिने पार्टीको नाम ‘जनसेवा पार्टी’ रहने ती व्यक्तिको भनाइ छ । ‘पार्टी अध्यक्षमा कुलमान नै हुनेछन् । उनी अध्यक्ष भएनन् भने पूर्वऊर्जा सचिव डा. अनुपकुमार उपाध्यय हुने सम्भावना छ,’ ती व्यक्तिले भने, ‘यसबारे सोमबार बिहान टुंगो लाग्नेछ ।
स्रोतका अनुसार नयाँ बन्ने पार्टीले ‘एक व्यक्ति एक पद’को नीतिलाई कडाइका साथ लागु गर्नेछ । जसअनुसार सरकारमा जानेहरू पार्टीका पदाधिकारीमा बस्नेछैनन् । उक्त पार्टीले कुलमानलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताइएको छ । त्यसैले नयाँ पार्टीको अध्यक्ष सम्भवतः कुलमान हुनेछैनन् । उनी पार्टी अध्यक्ष भए प्रधानमन्त्री हुन नपाउने हुनाले त्यसो गर्न लागिएको बताइएको छ ।
डा. उपाध्यायलाई अघि सार्दा कुलमानले प्रधानमन्त्री बन्ने बाटो बन्द हुने हुनाले त्यस्तो नीति लिइएको कुलमाननिकट ती व्यक्तिको भनाइ छ । कुलमान निकट व्यक्तिहरूको बैठक आइतबार दिनभरि काठमाडौंको बौद्धमा बसेको थियो । सोमबार बिहान फेरि बैठक बस्नेछ । बैठकमा नयाँ पार्टी गठनका लागि सक्रिय रहेका मुख्यमुख्य व्यक्तिहरू सहभागी थिए ।
बैठकले पार्टीको रूपरेखा तयार पारेको छ । स्रोतका अनुसार उक्त पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन ) को पनि समर्थन रहने दाबी गरिएको छ । स्रोतका अनुसार उनी स्वयं भने पदमा रहनेछैनन् । बालेनका प्रतिनिधिहरू भने उक्त पार्टीमा संलग्न हुनेछन् ।
यसैगरी उक्त पार्टीमा केही दिनअघि निर्वाचन आयोगमा दर्ता भएको ‘जेनजी पार्टी’ पनि जोडिने दाबी गरिएको छ । कुलमाननिकट अर्का व्यक्तिका अनुसार त्यस पार्टीमा स्वतन्त्र प्रदेश सांसद ताराप्रसाद जोशी पनि सहभागी हुनेछन् । यसैगरी सुमना श्रेष्ठ, सागर ढकाल पार्टीमा सहभागी हुनेछन् । उक्त पार्टीमा जेनजी आन्दोलनका अगुवा दाबी गर्दै आएका सुदन गुरुङका प्रतिनिधिहरू पनि जोडिनेछन् । स्रोतका अनुसार आयोगले उक्त पार्टीलाई पार्टीका रूपमा मान्यता दियो भने काठमाडौंमै एउटा घोषणासभा हुनेछ ।
उक्त पार्टीको चुनाव चिह्न ‘बलिरहेको चिम’ राखिने बताइएको छ । निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्न आगामी कात्तिक ३० गतेसम्म म्याद दिएको छ । म्याद सकिनै लाग्दा नयाँ पार्टी दर्ता गर्न कुलमान र उनीनिकट व्यक्तिहरूले सक्रियता बढाएका हुन् ।