नेपालगन्ज : नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द्र तिमिल्सेनाले कांग्रेसभित्र जेन-जी पुस्ताको प्रतिनिधित्व गराउन नियमित महाधिवेशन गर्नुको विकल्प नभएको बताएका छन् ।
नेपालगन्जमा सोमबार बिहान आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘१४ औं महाधिवेशनमा निर्वाचित भएका वडा तहदेखी केन्द्रसम्मका पदाधिकारीको चार वर्षे कार्यकाल आउँदो मंसिरमा सकिदैछ, यस्तो अवस्थामा नियमित महाधिवेशन गर्नु नै उत्तम विकल्प हो, नियमित महाधिवेशन गर्दा नयाँ क्रियाशिलता दिएर जेन-जी पुस्ता समेतको प्रतिनिधित्व गराउन सकिन्छ, नियमित महाधिवेशनले मात्र जेन-जी आन्दोलनको भावनाको कदर गर्नेछ ।’
नियमित महाधिवेशनको नाममा पार्टीका वर्तमान पदाधिकारीको कार्यकाल थप्ने पक्षमा किसान महासंघ नरहेको उनले प्रष्ट पारे । पार्टीका अधिकांस भातृ तथा शुभेच्छुक संस्थाले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सहमती गरेर पार्टी नेतृत्वलाई सुझाव दिइसकेको अध्यक्ष तिमिल्सेनाले जानकारी दिए ।
आफुहरुले अगाडी सारेका एजेण्डालाई जिल्ला-जिल्लामा पुर्याइने उद्घोष पनि गरे । किसानका विभिन्न समस्या र मागलाई सम्बोधन गर्न सरकारलाई दवाव स्वरुप महासंघले जिल्लासम्म अभियान सञ्चालन गर्न लागेको प्रष्ट्याए । ‘हाम्रा एजेण्डालाई हामी जिल्ला-जिल्लामा लगेर जान्छौं, किसानमा केही न केही चेन्ज आउनुपर्छ,’ उनले भने, ‘किसानलाई हामी आधुनिक प्रविधिसँग जोडेर ब्यवसायमुखी बनाउन चाहन्छौं ।’
महासंघले समयमै धान खरिद गर्न खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई दवाव सिर्जना गर्दै आएको र उखु, दुध र स्याउ उत्पादक किसानको बाँकी बक्यौता भुक्तानी गराउन पनि सरकार लगायतका निकायसँग आवश्यक समन्वय गरेको अध्यक्ष तिमिल्सेनाको जोड छ ।
किसानलाई रासायनिक मल वितरण कार्यलाई प्रभावकारी बनाउन महासंघले सरकारलाई पटक-पटक ध्यानाकर्षण गराईरहेको बताउँदै भने, ‘राशायनिक मल बिक्री, वितरण गर्ने जिम्मा सहकारी संस्थालाई दिदाँ कतै राम्रो भएको छ, कतिपय ठाउँमा बिकृति पनि निम्तिएको छ, किसानले सहकारीको विकल्पमा सिधैं मल खरिद गर्न पाउनुपर्छ ।’ नेपाल-भारत खुल्ला सिमाका कारण नेपाली किसानले उत्पादन गर्ने बस्तुलाई भारतीय उत्पादनले बिस्थापित गर्ने गरेको उनको भनाई छ ।