जनकपुरधाम : कटेजबाट मधेसमा मुख्यमन्त्री नियुक्ति भएको विरोधमा नकेपा एमालेबाहेक सात दलीय समीकरण विरोधमा उत्रेका छन्। कांग्रेस, जसपा, लोसपा, जनमत, एकीकृत समाजवादी, माओवादीसहित सात दलका नेता कार्यकर्ताहरूले मधेस भवनस्थित मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गरी कब्जामा लिएका छन्। आक्रोशित नेता कार्यकर्ताहरू मुख्यमन्त्री कार्यालयमा तोडफोड समेत गरेका छन्।
अहिले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन्। नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरू मुख्यमन्त्री कार्यालयमा ताला लगाएर घेराउ गरिरहेका छन्। त्यस्तै दलका कार्यकर्ताहरूले मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पनि तालाबान्दी गरेका छन्। उनीहरूले प्रदेशका अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी गरिरहेका छन्।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई आज बिहान महोत्तरीको पानस कटेजबाट मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार मधेस प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा मत विभाज प्रक्रिया सुरु हुन अगावै पदबाट राजीनामा दिएका थिए। त्यसपछि आइतबार कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष आग्रह गरेका थिए।
तर प्रदेश प्रमुख भण्डारीले सोमबार बिहानै संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रूपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि सात दल विरोधमा उत्रिएका हुन्। नवनियुक्त मुख्यमन्त्री यादव मधेस भवन आउने खबरपछि सात दलका प्रतिनिधि तथा सांसदहरू उनलाई रोक्न गेटदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरिरहेका छन्। नेता कार्यकर्ताहरूले टायर बालेर पनि विरोध प्रदर्शन गरिरहेका छन्।
मधेस भवन वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति तायनाथ गरिएको छ। अहिले मधेस भवन क्षेत्र तनावग्रस्त बनेको छ। सम्भावित भिडन्तको अवस्थालाई मूल्यांकन गर्दै यस क्षेत्रमा सुरक्षा सावधानी अपनाइएको छ। यस क्षेत्रमा सात दलका नेता/कार्यकर्ताको संख्या निरन्तर थपिँदो छ।