नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाबीच उत्पन्न सिमा विवाद समाधान नहुँदा पटक–पटक तनाव हुने गरेको छ । लामो समयदेखी उत्पन्न विवाद समाधान नहुँदा दुई स्थानीय तहबीच तनाव हुने गरेको हो । सिमा विवादकै कारण राप्ती सोनारी–६ र डुडुवा–५ को सिमा क्षेत्रमा रहेको राप्तीमा नदीजन्य पदार्थ कस्ले उत्खनन् गर्ने भन्ने विषयमा विवाद हुदै आएको हो । सिमा अतिक्रमणका विषयमा दुबै स्थानीय तहको आ–आफ्नै दावी रहेको छ ।
दुई स्थानीय तह बीचको विवाद मिलाउन अहिलेसम्म जिल्ला समन्वय समितिसहित प्रदेश सरकार समेत असफल भएको आरोप लागेको छ । दुई स्थानीय तहबीचको सिमा विवाद कायम रहेका बेला डुडुवा गाउँपालिकाले अहिले जवरजस्ती ‘गाउँ प्रहरी’ परिचालन गरेर नदीजन्य पदार्थ धमाधम उत्खनन् गरेको राप्ती सोनारी–६ का वडाअध्यक्ष लवराज खरेलले बताए ।
‘दुई पालिकाबीच सिमा विवाद कायमै रहेका बेला डुडुवाले अहिले फेरी आफ्ना प्रहरी परिचालन गरेर नदीमा एक्साभेटरमार्फत नदीजन्य पदार्थ उत्खनन् गरिरहेको छ,’ उनले भने, ‘नदीले कटान गरेरको राप्ती सोनारी–६ का किसानको ब्यक्तिगत जमिन पर्ने राप्ती नदीको कटान क्षेत्रमा जवरजस्ती उत्खनन् भईरहँदा हामीले रोक्न सक्ने स्थिती नै छैन, किनकी डुडुवाले आफ्ना प्रहरीको सुरक्षा घेरामा एक्साभेटर र चलाईरहेको छ ।’
यस विषयमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीको तर्क भने फरक छ । राप्ती सोनारी–६ ले आफ्नो सिमा दावी गरेको क्षेत्र डुडुवाभित्र पर्ने उनको जिकिर छ । ‘गतवर्ष यो क्षेत्रमा राप्ती सोनारीले पहिल्यै ठेक्का लगाईहाल्यो, त्यसपछि हामीले उहाँहरुलाई काम गर्न दियौं,’ अध्यक्ष चौधरीले भने, ‘यो वर्ष हामी सुरुमै ठेक्का प्रक्रियामा जादाँ पनि कसैले ठेक्का नहालेपछि अहिले नियम अनुसार गाउँपालिका आफैले (अमानतमा) नदीजन्य पदार्थ संकलन गरिरहेका छौं ।’ गतवर्ष राप्ती सोनारीले ठेक्का लगाइसकेपछि नापजाँच गर्दा उक्त क्षेत्र डुडुवाको स्वामित्वभित्र परेको अध्यक्ष चौधरीको दाबी छ ।
यस्तै राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आफ्नो क्षेत्रमा आएर डुडुवाले जवरजस्ती नदीजन्य पदार्थ उत्खनन् गर्ने गरेको बताए । ‘डुडुवाले आफ्नो प्रहरी लगाएर हाम्रो सिमा क्षेत्रमा जवरजस्ती नदीजन्य पदार्थ उत्खनन् गरिरहेको छ, आज भोलि पनि त्यहाँ मेसिन लगाएर उत्खनन् गरेको कुरा मैले जानकारी पाएको छु,’ उनले भने, ‘हाम्रो र डुडुवा बीचको धेरै वर्षदेखी सिमा विवाद कायम छ, हाम्रो यो विवाद कस्ले मिलाईदिने ?’ जिल्ला समन्वय समितिले पनि सिमा विवाद मिलाउन नचाहेको अध्यक्ष पौडेलको आरोप छ ।