काठमाडौं : नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेको छ। सो क्रममा सेनाले निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिएको थियो।
सेनाको मुख्यालय जंगी अड्डा पुगेकी प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताएकी थिइन्।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्नेमा विश्वास्त रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
उनले भनिन्, 'जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु ।' प्रधानमन्त्री कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत बग्न नहुने बताइन्।
उनले भनिन्, 'एक जना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु।'
जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन थियो। स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि सेनालाई उनको आग्रह थियो।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो।