काठमाडौं : नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्नको लागि सभापति शेरबहादुर देउवा आफैँ सक्रिय भएपनि अहिलेसम्म सहमतिको मिलनबिन्दु भेटिएको छैन ।
देउवाले हिजोदेखि नै कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित आफू निकट नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् ।
हिजोको छलफलमा कुनै सहमति बन्न नसकेपछि देउवाले आज आफूनिकट नेता कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई पनि छलफलमा डोकेका छन् । तर अहिलेसम्म कुनै सहमति नबनेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले भने, ‘अहिलेसम्म कुनै ठोस सहमति भएको छैन ।
सभापतिले आफ्नो ढङ्गले छलफल गरिराख्नुभएको छ ।’ चुनावअघि महाधिवेशनको गर्न नसकिने पक्षमा उभिएका महतले सभापति देउवाले विशेष महाधिवेशनलाई अस्वीकार गरिसकेको बताए । उनले थपे, ‘कार्यसमितिको कार्यकाल सकिसक्यो, अब विशेष महाधिवेशन हुनै सक्दैन । अब हुने नियमित महाधिवेशन नै हो ।’
यद्यपि, देउवाले विशेष महाधिवेशन पक्षधरको मागलाई सम्बोधन गर्न पुसभित्र कार्यतालिका ल्याउनुपर्नेमा सकारात्मक देखिएका थिए । तर, महामन्त्रीद्वयले आफूहरूलाई महाधिवेशनको कार्यतालिका नभई महाधिवेशन नै चाहिएको भन्दै अडान नछाडेपछि सहमति बन्न सकेको छैन ।
देउवा आफैँ सक्रिय भएसँगै अहिले कार्यतालिका देखाएर विशेष महाधिवेशन पक्षधरलाई फिर्ता गराएर महाधिवेशन धकेल्न खोजेको महामन्त्रीद्वयको आशंका छ। नियमित महाधिवेशनको सम्भावना टरेको भन्दै अब विशेष महाधिवेशनको विकल्प नभएको उनीहरूको अडान छ।