काठमाडौं : निर्वाचन आयोगमा विभिन्न ३३ वटा दलले गत आर्थिक वर्षको आय-व्यय विवरण बुझाएका छन्। गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो । त्यसमध्ये ३३ वटा दलले आय-व्यय विवरण बुझाएका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। बुझाउन बाँकी दलहरूमा नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएका दलहरू ( नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरू) समेत रहेका छन् । दलहरू मिलेर नयाँ दल बनेको भएता पनि मिल्नु अगाडिको अवस्थामा रहेका दलले आय-व्यय विवरण बुझाउनुपर्ने हुन्छ । अन्यथा, आयोगले आयव्यय विवरण नबुझाउने दलको रूपमा नाम प्रकाशन गर्नेछ ।
आय-व्यय विवरण बुझाउने दलहरूमा नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, मधेशी जनअधिकार फोरम मधेश, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, त्रिमूल नेपाल रहेका छन् । जन प्रजातान्त्रिक पार्टी नेपाल, चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय विकास पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), इतिहासिक जनता पार्टी, जनजागरण पार्टी नेपाल, बहुजन शक्ति पार्टी, नेपाल जनमुक्ति पार्टीले पनि आय-व्यय विवरण बुझाएका छन् ।
नेपाल जनता संरक्षण पार्टी, नेपाल मानवता पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), नेपाल परिवार दल, समावेशी समाजवादी पार्टी नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र जनता प्रगतिशील पार्टी नेपालले पनि आयव्यय विवरण बुझाएका छन् ।
राष्ट्रवादी युवा मोर्चा, मितेरी पार्टी नेपाल, प्रगतिशिल समाजवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी, आमुल परिवर्तन रिपब्लिकन पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी परिवर्तनले पनि आयव्यय विवरण बुझाएका छन् । राजनीतिक दल सम्बन्धी ऐनको परिच्छेद-८ मा लेखा र लेखा परीक्षणसँग सम्बन्धित व्यवस्था छ ।