नेपालगन्ज : लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लैंगिक हिंसा नगर्ने प्रतिवद्धता सहित सबैले आफ्नो घरबाट अभियान सुरु गर्नुपर्ने बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मन्त्रालयले नेपालगन्जमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामीले आफ्नै घरबाट लैंगिक हिंसा नगर्ने प्रतिवद्धता जनाउन आवश्यक छ ।’
मन्त्री तिमिल्सिनाले आर्थिक रुपले सबै सक्षम भएपछि मात्र लैंगिक हिंसाको अन्त्य गर्न सकिने बताए । अर्को प्रसंगमा उनले लैंगिक हिंसा अन्त्य गर्न शिक्षामा परिवर्तन ल्याउन आवश्यक रहेको मन्त्री तिमिल्सिनाले जोड दिए । ‘जबसम्म शिक्षामा परिवर्तन ल्याउन सक्दैनौं, तबसम्म हाम्रो सोचमा परिवर्तन ल्याउन सक्दैनौं,’ मन्त्री तिमिल्सिनाले भने । प्रदेश सरकारले चाडैं महिला ऐन ल्याउन लागेको उनले जानकारी दिए ।
मन्त्रालयका महिला महाशाखा प्रमुख सम्झना सुवेदीले प्रत्येक घर, समुदायमा लैंगिक हिंसा विरुद्धको अभियानलाई लैजान जरुरी रहेको बताइन् । समाज परिवर्तन सँगै लैंगिक हिंसाको स्वरुप पनि परिवर्तन हुदै गएको महाशाखा प्रमुख सुवेदीले जानकारी दिइन् । लुम्बिनी प्रदेशमा हुने गरेका कुल अपराधको झण्डै एक तिहाई अपराध लैंगिक हिंसा सम्बन्धी रहेको उनले बताइन् ।
कार्यक्रममा बोल्ने बक्ताले लैंगिक हिंसा आफुले नगर्ने र अरुलाई पनि हिंसा गर्न नदिने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा उपस्थित मन्त्री, प्रदेश सांसद, कर्मचारी, सुरक्षा निकाय, शिक्षक, सामाजिक अगुवा, अधिकारकर्मी, बिद्यार्थी लगायतले लैंगिक हिंसा नगर्ने सामुहिक रुपमा प्रतिवद्धता जनाएका थिए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद सञ्जुकुमारी चौधरी र सुशिला नेपाली, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख राजेन्द्र भट्ट, लुम्बिनी प्राविधिक विश्व विद्यालयका उपकुलपति प्रा.डा.बिनोद ढकाल, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई लगायत उपस्थित थिए ।
