नेपालगन्ज : नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टीका नेताले केही पनि गरेनन् भनेर कु–प्रचार गरिएको बताएका छन् । नेपालगन्जमा बिहीबार आयोजित बाँके जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफुहरु सरकारमा रहँदा उल्लेख्य कामहरु गरेको दाबी गरे ।
गरिव, बिपन्न समुदायका लागि थुप्रै काम गरेको पुर्वप्रधानमन्त्री समेत रहेका सह–संयोजक नेपालले बताए । नव गठित नेपाली कम्युनिष्ट पार्टी नेपालको राजनीतिमा चम्किलो तारा जस्तै चम्किरहेको बताए । ‘हिजोसम्म हामी भन्दै थियौँ, नेकपा एमाले, कहिले माओवादी, कहिले समाजवादी । अब हामीले यसको नाम ‘नेपाली कम्युनिष्ट पार्टी राखेका छौँ, यो पार्टी नेपालको राजनीतिमा चम्किलो तारा जस्तै चम्किरहेको छ,’ उनले भने ।
अर्को प्रसंगमा उनले त्याग, तपस्या र बलिदानको परीक्षामा उत्तीर्ण भएकाहरूले नै देशको नेतृत्व गर्न सक्ने बताए । जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै समाजवाद भएको उनको भनाई छ । ‘जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नु नै हाम्रो पार्टीको मुख्य उद्देश्य हो, जसको घर छैन, उसलाई सरकारले घर दिनुपर्छ भन्ने निर्णय गर्ने प्रधानमन्त्री म नै थिएँ,’ उनले भने ।
२०६६ सालमा आफू प्रधानमन्त्री हुँदा ‘जनता आवास कार्यक्रम’ ल्याएको नेता नेपालले स्मरण गराए । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिदै भने, ‘अब नयाँ नेपालको सपना बोकेर अगाडी बढ्नुपर्छ, फागुन २१ गते हुने चुनावमा हामी सहभागी हुन्छौँ र सफलता प्राप्त गर्नेछौँ ।’
सो क्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता शक्ति बहादुर बस्नेत लगायत नेताले पनि सम्बोधन गरेका थिए । नेपालगन्जको त्रिभुवन चोक पुर्वमा आयोजित कार्यक्रममा बाँकेका विभिन्न ठाउँबाट कार्यकर्ताहरु आएका थिए ।


