दाङ : नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वभाविक भएपनि नेताको विरोधका नाममा मर्यादा नाघ्न नपाइने बताएका छन् । कांग्रेसको लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमलाई शुक्रबार लमहीमा सम्बोधन गर्दै उनले नेताको कार्यशैलीको विरोध लोकतान्त्रिक संस्कारभित्र पर्ने, तर नेताको विरोधको नाममा मर्यादा नाघ्न कसैले नपाउने बताए ।
कांग्रेसमा वीपी, सुवर्ण, गणेशमान र कृष्णप्रसादकै पालामा पनि गुट एवं आन्तरिक प्रतिस्पर्धा हुने गरेको, त्यो आज पनि रहेको र भोलि पनि रहने बताए । ‘कांग्रेसमा गुट एवम् आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो, तर त्यसको नाममा चार तारे झण्डा र रुख चिन्हमाथि अहित हुने काम कसैले गर्न पाउँदैन,’ उनले भने ।
राज्यका तीन वटै अंग जलाइएको, दर्जनौं नेपाली मारिएको, पार्टीका केन्द्रदेखि जिल्ला सम्मका पार्टी कार्यालय ध्वस्त पारिएको, सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणामाथी आक्रमण गरिएका बेला संयमता देखाउनु पर्नेमा पार्टीकै नेताहरुद्धारा अमर्यादित क्रियाकलाप प्रस्तुत गरिएकोे भन्दै नेता राठौरले आक्रोश व्यक्त गरे ।
आफूहरुले पनि विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीको विरोध गरेको तर उनीहरुको योगदानको अवमूल्यन कहिल्यै नगरेको सह-महामन्त्री राठौरले बताए । पार्टीले १५ औं महाधिवेशन र आमनिर्वाचनको तयारी सँग सँगै अघि बढाएको जानकारी दिदै सिद्धान्त, आस्था र संगठनले जित्ने पार्टी नेतृत्व र कांग्रेसले जित्ने निर्वाचनका लागि तल्लोदेखि माथिल्लो तह सम्मका नेता कार्यकर्ता सक्रिय हुनुपर्ने उनले बताए ।