नेपालगन्ज : नेपाली काश्ंग्रेस बाँकेले निर्माण सम्पन्न गरेको सुशील कोराला स्मृति भवन उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् कांग्रेस सह-महामन्त्री किशोर सिंह राठौरले मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा आउने तय भएपनि मौसम प्रतिकुलताले गर्दा दुबै जना नआएपछि सह-महामन्त्री राठौंरले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सह-महामन्त्री राठौरले वर्तमान समयमा कांग्रेस कार्यकर्ताहरु एकजुट भएर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । कांग्रेस कार्यकर्ताहरु पार्टीप्रति मर्यादित, अनुशासित तथा एक ढिक्का भएमा कसैले पनि कांग्रेसलाई पराजित गर्न नसक्ने उनको जिकिर छ । ‘कार्यकर्ता फुटेभने पार्टी कमजोर हुन्छ र पार्टी कमजोर भयो भने नेपालबाट लोकतन्त्र समाप्त हुन्छ,’ राठौंरले भने ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, डा. गोपाल दहित र मानबहादुर नेपाली लगायतले पनि सम्बोधन गरेका थिए । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले भवन परिसरमा स्वर्गिय सुशील कोइरालाको अर्धकदको शालिक पनि छिट्टै निर्माण गरिने बताए । आफ्नो कार्यकालमा गरिएको बाचा र प्रतिवद्धता बमोजिम भवन निर्माण गरिएको उनको भनाई छ ।

उक्त कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने संस्था र व्यक्ति तथा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण एवम् जनपक्षीय पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ५ जना पत्रकारलाई सम्मान गरिएको जिल्ला सचिव सुधान्सु कोइरालाले जानकारी दिए । सम्मानित हुने पत्रकारहरुमा प्रेस युनियन बाँकेका उपाध्यक्षद्धय कमल खत्री र निशा शाह, पत्रकारहरु बैकुण्ठ अधिकारी, रविन्द्र घिमिरे र अभिशेष गुप्ता रहेका छन् ।
कांग्रेसले भवन निर्माणका लागि हालसम्म एक करोड २० लाख ८३ हजार रुपैयाँ बढी खर्च भइसकेको जनाएको छ । भवन निर्माणका लागि विभिन्न निकाय तथा व्यक्तिहरुबाट नगद, भौतिक र जिन्सी गरी एक करोड २५ लाख ७० हजार बढी रकम सहयोग प्राप्त भएको भवन निर्माण समितिका संयोजक एवम् उपसभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए ।
भवनलाई जेष्ठ नागरिक तथा अपांगतामैत्री बनाइएको र तीन तल्ले उक्त भवनमा लिप्ट जडान गरिएको संयोजक अधिकारीले बताए । नेपाली कांग्रेसका सन्त नेता एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसर पारेर भवनको उद्घाटन गरिएको हो ।