बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाले तयार गरेका ‘नगर प्रहरी’ कार्यक्षेत्रमा खटिएका छन् । नगर प्रहरीका लागि सञ्चालित आधारभुत तालिम समापन भएसँगै उनीहरु कार्यक्षेत्रमा खटिएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता सँगको सहकार्य तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा नगर प्रहरी आधारभुत तालिम गरिएको थियो । स्थानीय सरकार कार्य सञ्चालन ऐन, २०७४ मा भएको ब्यवस्था अनुसार गाउँपालिकाले छनोट गरेका १ जना नगर प्रहरी सहायक निरीक्षक, १ जना नगर प्रहरी हवल्दार र ७ जना नगर प्रहरी जवान तालिम पश्चात कार्यक्षेत्रमा खटिएका हुन् ।
शिक्षालयमा १५ दिनसम्म सञ्चालन भएको उक्त तालिमका क्रममा प्रशिक्षार्थीहरुलाई पेशागत ज्ञान, क्षमता अभिवृद्धि, अग्नि नियन्त्रण, आपतकालिन उद्धार, अतिथी सत्कार, ड्रिल, भूकम्प, कानून, मानव अधिकार, भिआईपी सुरक्षा, हुल तथा दंगा ब्यवस्थापन, कार्यालय सुरक्षा तथा विविध विषयहरुमा ब्यवस्थित ढंगबाट तालिम सञ्चालन गराउनको लागि सशस्त्र प्रहरी बल नेपालमा उपलब्ध लेक्चर, प्रेशी, पावर प्वाईन्ट, डेमोस्ट्रेसन, छलफल र अभ्यासमार्फत तालिम प्रदान गरियो ।
तालिमको अन्तिम प्रवचन कार्यक्रममा मंगलबार बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताका समादेशक एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्र बम, विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, सशस्त्र प्रहरी उपरीक्षक एवम सह-समादेशक प्रकाशकुमार सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्याय, सशस्त्र प्रहरी नायव उपरीक्षक, बैजनाथ गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरु, सशस्त्र प्रहरी निरीक्षकहरु, जुनियर सशस्त्र प्रहरी अधिकृतहरु, तालिमका प्रशिक्षार्थी लगायतको उपस्थिती रहेको थियो ।
तालिमको अन्तिम प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले नगर प्रहरीलाई स्थानीय सरकार कार्य सञ्चालन ऐन अनुसार आफ्नो काम र कर्तब्य निभाउन निर्देशन दिए । स्थानीय सरकारको विकास र समृद्धिमा नगर प्रहरीले भूमिका निभाउनुपर्ने उनले बताए ।
यो पनि पढ्नुस् :
बैजनाथले तयार गर्दै आफ्नै प्रहरी, छनोटमा परेका नगर प्रहरीलाई दिदैं आधारभुत तालिम