नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणका घटना बढ्दै जाँदा मानव जीवन असुरक्षित बन्दै गएको भन्दै नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले गम्भीर ध्यानाकर्षण गराएको छ ।
क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई शुक्रबार (आज) ध्यानाकर्षण पत्र बुझाएका हुन । बाघको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग कांग्रेसले माग गरेको छ ।
गत शनिबार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनाप्रति कांग्रेस क्षेत्रले दुःख व्यक्त पनि गरेको छ ।
पछिल्लो समय बाघको आक्रमणका कारण निर्दोष नागरिकले अकालमै ज्यान गुमाउनु परिरहेको उल्लेख गर्दै यसलाई अत्यन्तै दुःखद, चिन्ताजनक र मानव सुरक्षाको दृष्टिकोणले गम्भीर विषय भएको बताइएको छ। यस्ता घटनाले स्थानीय समुदाय त्रसित बनेको र जनजीवन असुरक्षित हुँदै गएको पार्टीले उल्लेख गरेको छ। बाघको तत्काल पहिचान गरी नियन्त्रणमा लिन, जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न कांग्रेस क्षेत्र नम्बर १ ले आग्रह गरेको छ ।
साथै स्वर्गिय भण्डारीको परिवारलाई प्रचलित कानुनअनुसार तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन व्यवस्थापन योजना लागू गर्न, निकुञ्ज आसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित र निर्भीक रूपमा बाँच्न सक्ने वातावरण सुनिश्चित गर्न पनि पार्टीले जोड दिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउँँदै सभापति केसीले अहिले पनि बाघ कुसुम क्षेत्रमा देखा परिरहेकाले नियन्त्रणमा लिन तत्काल पहल थाल्न आग्रह गरे । ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रजिअ तामाङले आफुले यसबारेमा आवश्यक पहल गर्ने बताए ।