काठमाडौं : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनका कार्यक्रम धमाधम अघि बढाएको छ । भृकुटीमण्डपमा अहिले उम्मेदवारी दर्ताको काम सुरु भएको छ । संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचनका कार्यक्रम अघि बढाइएको छ ।
पटक-पटक विभिन्न तहका नेताहरूबीच भएका छलफल असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढेको हो । विभिन्न १३ जना पदाधिकारीमा उम्मेदवारी दिन सकिने जनाइएको छ । महाधिवेशनमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको हो । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता फारम वितरण सुरू भएको छ। पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबैमा निर्वाचित हुने विधानको व्यवस्था छ।
सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ जना रहन्छन्। त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चुनिने छन्। विशेष महाधिवेशनले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ, जसअनुसार मंगलबार राति ९ बजेदेखि भोलि बिहान १ बजेसम्म मतदानको कार्यक्रम तय भएको छ। मनोनयन दर्ताका लागि २ देखि ३ बजेसम्मको समय दिएको छ।
साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ। निर्वाचनले पदाधिकारी र केन्द्रीय समिति चयन गर्नेछ। पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ताका लागि निर्वाचन समितिले शुल्क निर्धारण गरेको छ। यसअनुसार सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ।
केन्द्रीय उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ शुल्क निर्धारण भएको छ। त्यस्तै सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए। केन्द्रीय सदस्य पदका लागि भने १० हजार रूपैयाँ शुल्क तोकिएको छ।