नेपालगन्ज : बाँकेका रहेका विभिन्न ताल तलैया, सिमासर, जलाशय तथा नदी क्षेत्रमा जलपन्छी गणना सुरु गरिएको छ । बाँकेको राप्ती नदी तटीय क्षेत्र कुसुम, अगैया, सिधनिया घाट, तालतलैया तथा जलाशय क्षेत्रमा गणना गरिएको नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिए ।
उनका अनुसार मंगलबारबाट सुरु भएको गणना बुधबारसम्म चलेको हो । हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि जलपन्छी गणना हुँदै आएको छ । यसवर्ष नेपालका विभिन्न स्थानमा पुस १९ गतेदेखि जलपन्छीको गणना सुरु गरिएको र माघ ४ गतेसम्म गणना गरिने उनले बताए ।
पानीमा आश्रित जलपन्छीको अवस्था, प्रजातिको अवस्था, तथा तालतलैया र सिमसार क्षेत्रको अवस्थासमेतका बारेमा जानकारी लिइने उनले बताए । जाडो सिजनमा उत्तरी धु्रवमा हिउँ पर्ने हुँदा त्यहाँका चराहरुलाई आहारविहारको समस्या पर्ने हुँदा हरेक वर्ष आगन्तुक चराहरु खानाको खोजीमा बसाइँसराइ गरी यतातिर आउने गरेको उनले बताए । नेपालमा चार सयभन्दा बढी चरा स्वयंसेवकहरु गणनामा लागेका उनले बताए ।
नेपालका ८० बढी सिमसार तथा जलीय क्षेत्रहरुमा जलपन्छीको गणना भइरहेको उनको भनाइ छ । नेपालगन्जस्थित कान्ति तालमा नेपाल सरकारले संरक्षण सूचीमा राखेका नौ प्रजातिका चरामध्ये सारसको एक प्रजाति पाइने उनले बताए । सारसका साथै यहाँ सिलसिले हाँस, मरुन, कुट, वकुल्ला प्रजाति, जलेवा, सिम कुखुरा, किङ फिसर लगायत पानीमा आश्रित अन्य जलपन्छीहरु रहेका छन् ।