काठमाडौँ : आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नआएका डेढ दर्जन जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले आवेदनको समय थप गरेका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेपछि शनिबारसम्म म्याद थप गरिएको सुरक्षा निकायले जनाएका छन् ।
दुवै प्रहरी संगठनले आ–आफ्नो जिल्लास्थित कार्यालयबाट २५ पुसमा निर्वाचन प्रहरी भर्ना खुलाएका थिए । एक साताको समय तोकिएकामा करिब २ लाखको आवेदन परेको थियो । अधिकांश जिल्लामा मागभन्दा बढी आवेदन परेको छ । तर भर्नासम्बन्धी मापदण्डमा नपरेर कतिपय आवेदक छनोट चरणबाटै बाहिरिन्छन् ।
२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा परिचालन गर्न नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी छ । मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाइएकामा दोब्बर अर्थात् २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो ।
वैशाख २०७९ को स्थानीय तह निर्वाचन सुरक्षामा पनि करिब १ लाख म्यादी प्रहरीको आवेदन खुलाउँदा तेब्बर अर्थात् करिब ३ लाखको दरखास्त परेको थियो । ‘यो पटक पहिलेभन्दा बढी आवेदन माग गरियो तर कम आवेदन पर्यो,’ प्रहरीका एक एसएसपीले भने । प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पूर्वम्यादी प्रहरी, पूर्वसुरक्षाकर्मी र वन रक्षकसमेत छन् ।
आसन्न निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्न केन्द्रीय सुरक्षा समिति बैठकले स्वीकृति दिइसकेको छ । जसअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ८८ हजार जनशक्ति परिचालित हुँदै छन् । यसबाहेक ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख निर्वाचन प्रहरी खटाउने तयारी छ ।