नेपालगन्ज : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेमा नेपाली कांग्रेसले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंग्याएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।
उक्त निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट जिल्ला सभापति नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर २ बाट सुधान्सु कोइराला र ३ नम्बर क्षेत्रबाट अमरसिंह पुनको नाम टुंगो लगाइएको कांग्रेसको विश्वस्त श्रोतले जानकारी दिएको छ । यद्यपी, यि उम्मेदवारलाई पार्टीले उम्मेदवारीका लागि अझै टिकट भने हातमा थमाईसकेको छैन ।
कांग्रेस बाँकेका सभापति गौडेलले तीन जनाको नाममा टुंगो लागेको भन्ने जानकारी पाएपनि टिकट अझै हातमा परिनसकेको बताए । सभापति गौडेलले २०७४ सालमा प्रदेश सभा-१ 'ख' को उम्मेदवार भएपनि उपविजेता भएका थिए । त्यो बेला तत्कालिन बामगठबन्धनका उम्मेदवार आरती पौडेल विजयी भएकी थिइन ।
'अहिलेसम्म टिकट हातमा परेको अवस्था छैन, म अहिले पनि काठमाडौंमै छु, हेरौं अन्तिम अवस्था सम्म के हुन्छ,' गौडेलले भने । टिकट कसैको हातमा नपरेकाले कांग्रेस क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री, नेता हुर्मत न्यौपाने लगायत नेताहरुले अहिले पनि जोडबल गरिरहेका छन ।
यस्तै कांग्रेस बाँकेका जिल्ला सचिव सुधांसु कोइरालाले क्षेत्र नम्बर २ का लागि आफ्नो टिकट टुंगो लागिसकेको बताएका छन । 'मेरो टिकट कमफम भएपछि म भर्खरै नेपालगन्ज फर्केको छु, टिकट हातमा चाहिँ परेको छैन,' उनलेे भने, 'जिल्ला सभापति उतै हुनुहुन्छ, उहाँले टिकट बोकेर आउने कुरा भएको छ ।'
सचिव सुधान्सु नेपाली कांग्रेसका पुर्बसभापति एवम पुर्बप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका सहोदर भाईका छोरा हुन । उनका बुवा स्वर्गिय डा. अरुण कोइराला र आमा किरण कोइराला कांग्रेस बाँकेका पुर्बसभापति हुन । सुधान्सु पहिलो पटक चुनाव लड्न लागेका फ्रेस उम्मेदवार हुन ।
श्रोतका अनुसार कांग्रेसले बाँके क्षेत्र नम्बर ३ मा पार्टीका तत्कालिन केन्द्रिय सह-महामन्त्री किशोरसिंंह राठौर चुनाव लड्ने भए उनैलाई उम्मेदवार बनाउने सोच बनाएको थियो । तर, नेता राठौरले आफु बाँके-३ बाट यसपटक चुनाव नलड्ने, बर्दियाको आफ्नो पुरानौ क्षेत्रबाट लड्ने बताएपछि पार्टीका लुम्बिनी प्रदेश सभापति पुनलाई बाँके-३ मा उम्मेदवार बनाउने निचोडमा पार्टी नेतृत्व पुगेको बताइएको छ । उक्त क्षेत्रबाट नेता लक्ष्मीनारायण शाहले पनि आफ्नो लागि टिकट ल्याउन जोडबल गरिरहेका छन ।
नेता राठौर निकट एक नेताका अनुसार राठौर बाँके-३ बाट यसपटक चुनाव लड्ने सम्भावना कम छ । 'गगनको हातमा पार्टी गएपछि किशोर दाईको मुड चेन्ज भएको छ, उहाँ बाँकेमा लड्ने सम्भावना त कम नै छ, पार्टी भित्र वातावरण बन्यो र शेरबहादुर दाइ लगायत टिमका नेताहरु सबै लड्ने भएपछि किशोर दाईको रोजाई बर्दिया-२ नै हुन्छ,' ती नेताले भने ।
कांग्रेसले हरेक चुनावम अन्तिम समयमा मात्र टिकट टुंगो लगाउने परम्परालाई पार्टीको वर्तमान नेतृत्वले पनि निरंतरता दिएको छ । 'किशोर दाईसँग सल्लाह भएर नै बाँके-३ मा प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवार बन्ने मनस्थिती बनाउनु भएको छ, यद्यपी अहिलेसम्म टिकटको टुंगो लागेको छैन,' सभापति गगन थापा निकट कांग्रेसका एक नेताले भने ।
प्रदेश सभापति पुनको निजी सचिवालयले बाँकेको कुन क्षेत्र सुरक्षित हुन सक्छ भनेर स्थानीय नेता, कार्यकर्तासँग सुझाव लिने काम पनि गरिरहेको बुझिएको छ । यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा प्रदेश सभापति पुनले अहिलेसम्म टिकटको टुंगो नलागेको दुरसन्चार मिडियालाई बताए ।