नेपालगन्ज : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा मंगलबार (भोलि) हुन लागेको उम्मेदवार मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र ब्यवस्थित गर्ने सर्वपक्षिय सहमती भएको छ । निर्वाचनका लागि मंगलबार देशभर एकैसाथ मनोनयन दर्ता गरिदैछ । निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखी अपरान्ह ५ बजेसम्म उम्मेदवारहरुलाई मनोनयन दर्ता गर्ने समय दिएको छ ।
उम्मेदवार मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र ब्यवस्थित ढंगले सम्पन्न गर्न बाँकेमा रहेका राजनीतिक दल तथा उम्मेदवारहरु सहमत भएका हुन् । निर्वाचन सम्पन्न गर्नका लागि क्षेत्र नम्बर २ को नेपालगन्जस्थित पशु सेवा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । यस्तै क्षेत्र नम्बर १ को राप्ती सोनारी गाउँपालिका कार्यालय अगैया र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम थालिएको छ ।
बाँकेमा पनि तीन वटै कार्यालयमा मंगलबार बिहान १० बजेदेखी ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न पाउनेछन् । बाँकेका मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालले तीन वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र ब्यवस्थित गर्न सर्वपक्षिय सहमती भएको बताए । उम्मेदवारहरु मनोनयन दर्ता गर्न आउँदा निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न उनले सबैले आग्रह गरेका छन् ।

‘म न्यायाधिस पनि हुँ, अहिले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा छु, मैले आफ्नो भूमिका निर्वाह गर्दाखेरी यहाँहरुको साझा ब्यक्ती छु,’ उनले भने, ‘हामीबाट बद्नियत पूर्वक वा पुर्वाग्रही रुपमा कुनै काम हुनेछैन ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले बिहान ११ बजेदेखी अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गराउन आउने गरी समय मागेका छन् । सबै उम्मेदवारलाई आधा घण्टाको फरकमा समय उपलब्ध गराइएको छ । कार्यालयभित्र मनोनयन दर्ता गराउन आउँदा एक जना उम्मेदवारसँग बढीमा ६ जना ब्यक्ती मात्र प्रवेश गर्न पाउनेछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसर भित्र बाजागाजा बजाउन र हो–हल्ला गर्न पाइनेछैन । यस्तै क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय अगैयामा पनि मंगलबार सर्बपक्षिय छलफल गरेर मनोनयन दर्ता गर्न आउँदा आचार संहिता पूर्ण रुपले पालना गर्ने सहमती भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले मंगलबार बिहान ११ बजेदेखी ४ बजेभित्र मनोनयन दर्ताका लागि उम्मेदवारहरु कार्यालयमा आउने कुराको जानकारी कार्यालयलाई गराएको बताए । ‘मनोनयन दर्ता गर्ने क्रममा बढीमा २५ जना मात्र कार्यालय परिसरमा प्रवेश गर्न पाउने, उम्मेदवारहरुले बाजा गाजा नबजाउने जस्ता आचार संहिता पालना गर्ने सहमती भएको छ,’ उनले भने ।
यसैगरी निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले उम्मेदवारसहित प्रस्तावक र समर्थक बाहेक अन्य ब्यक्तीहरु कार्यालयमा आउन नपाउने र उम्मेदवारले तडक-भडक नगर्ने सहमती सर्वपक्षिय बैठकमा भएको जानकारी दिए । ‘मनोनयन दर्ताका लागि उम्मेदवारहरुलाई आधा–आधा घण्टाको फरकमा समय दिएका छौं, बिहान १० बजेदेखी ५ बजेभित्र उहाँहरु आएर मनोनयन दर्ता गर्न सक्नु हुनेछ,’ उनले भने ।
बाँकेका प्रमुख जिल्ला अधिकारी प्रतिनिधि सभा निर्वाचनका लागि आउन सक्ने सुरक्षा चुनौतीलाई विश्लेषण गरेर आवश्यक रणनीति बनाइएको बताएका छन् । ‘निर्वाचनमा चार वटै सुरक्षा निकायसँगै निर्वाचन प्रहरी परिचालन हुनेछन्, हामी दृढ विश्वासका साथ निर्वाचनको सुरक्षामा होमिएका छौं,’ उनले भने । उम्मेदवार, मतादाता र निर्वाचनमा खटिने कर्मचारीलाई भरपर्दो रुपमा सुरक्षा प्रदान गरिने प्रजिअ तामाङले बताएका छन् ।

