बाँके (खजुरा) : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले संविधानलाई बचाउनका लागि कांग्रेस निर्वाचनमा जुटेको बताएका छन् । जेन-जी आन्दोलनपछि फेरिएको मुलुकको अवस्था र अप्ठ्यारोमा परेको ब्यवस्था जोगाउनका लागि निर्वाचन नै उत्तम विकल्प रहेको उनले प्रष्ट्याए ।
बाँके क्षेत्र नम्बर ३ खजुरामा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै सभापति पुनले कांग्रेस पार्टीभित्र रहेको असन्तुष्टीलाई थाती राख्दै एक ढिक्का भएर आगामी फागुन २१ गतेको चुनावमा होमिनु परेको बताए । ‘अहिले सम्मका उपलब्धीलाई संस्थागत गर्दै सबै कमी, कमजोरीलाई सच्याएर अगाडी बढ्नुपर्ने अवस्था छ, अहिलेको अवस्थामा एकले अर्कालाई आरोप लगाएर केही हुदैन,’ उनले भने । आफु विगत ३० वर्षदेखी बाँकेमा रहेको बताउँदै सभापति पुनले यसपटकको निर्वाचन बाँकेबाट लड्न पार्टीले निर्णय गरेको प्रष्ट्याए ।
आफुलाई बाँकेको क्षेत्र नम्बर ३ बाट गरिएको सिफारिस अनुसार पार्टीले निर्णय गरेको उनले जिकिर गरे । २०५२ सालदेखी बाँकेको क्षेत्र नम्बर ३ मा पर्ने जानकी गाउँपालिकामा जग्गा किनेर घरबास बनाई बसेको र बाँकेमा पार्टी तथा संगठन निमार्णमा नेताहरुसँग मिलेर काम गरेको बताए । ‘रोल्पा भन्दा बाँकेमै म बढी आउँछु, तराईमा प्रायः पहाडबाट झरेका मान्छेहरु छौं, उम्मेदवार कहाँको भनेर परिभाषा लगाउन जरुरी छैन, पार्टीले खटायो भने जहाँबाट पनि लड्नुपर्ने हुन्छ,’ उनले भने ।
पार्टीका तत्कालिन सह–महामन्त्री किशोरसिंह राठौंर चुनाव लडेको क्षेत्रमा आफुलाई पार्टीले टिकट दिएर पठाएको पुनले सुनाए । ‘किशोर सिंह राठौंर बर्दियाबाट लड्ने भएपछि अरु नेता भन्दापनि अमरसिंह पुनले सबै नेताहरुलाई समेट्न सक्छ भनेर मेरो नाम क्षेत्रबाट सिफारिस गरी पार्टीले उम्मेदवार बनाएको हो,’ उनले भने । आफु संसदिय बोर्डमा भएपनि टिकटको टुंगो लगाउँदा बैठकमा नभएको बताए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न भएको भेलामा पार्टीका निर्वतमान केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंर, नेपाली कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार एवम् महासमिति सदस्य दुःखीराम लोनिया, नेपाली कांग्रेस प्रदेश सभा-३ ख का सभापति राजेन्द्र आचार्य, नेपाली कांग्रेस खजुरा गाउँपालिका अध्यक्ष रमेश सिंजाली, नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, नेपाली कांग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादव, कांग्रेस नेता ऋषिकेस जिसी, बैजनाथ–४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, नेपाली कांग्रेसका विभिन्न वडाका वडा सभापतिहरु लगायतले बोलेका थिए ।
भेलामा कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, विभिन्न तहमा रहेका पार्टीका नेता तथा नेतृहरु लगायतको उपस्थिती रहेको थियो ।