बाँके (खजुरा) : नेपाली कांग्रेसका नेता किशोरसिंह राठौंरले बाँकेको क्षेत्र नम्बर ३ मा कांग्रेस पार्टीले इमान्दार र नैतिकवान मान्छेलाई उम्मेदवार बनाएको बताएका छन् । बाँकेको क्षेत्र नम्बर ३ अन्तरगत खजुरामा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अमरसिंह पुन जस्तो इमान्दार र नैतिकवान मान्छेलाई कांग्रेस पार्टीले उम्मेदवार बनाएको छ, जसरी हिजो मलाई यहाँका जनताले जिताउनु भयो, तपाईको भरोसामा अमरसिंह पुन जी चुनाव लड्दै हुनुहुन्छ ।’
राष्ट्रिय राजनीति गर्नेका लागि बाहिर-भित्र भनेर अर्थ नहुने नेपाली कांग्रेसका निर्वतमान सहमहामन्त्री राठौंरले बताए । ‘राजनीतिमा नेताहरु परिस्थिती अनुसार जहाँबाट पनि चुनाव लड्नुपर्ने हुन्छ, हिजोका दिनमा मलाई बाहिरको उम्मेदवार भनेर आरोप लगाइयो, बाँके क्षेत्र नम्बर ३ का जनताले मलाई यो क्षेत्रबाट चुनाव जिताउनु भएको गुणलाई मैले कहिल्यै बिर्सने छैन, यसपटक म बर्दियाबाट चुनाव लड्दैछु, यस क्षेत्रमा कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन यसपटक लड्दै हुनुहुन्छ, उहाँलाई पनि भोट दिएर जिताउन म सबैलाई आग्रह गर्छु,’ उनले भने । नेता राठौंरले राजनीति सधैं सरल नहुने पनि बताए ।
राजनीति गर्नेहरु सबै परिस्थितीका लागि तयार हुनुपर्ने धारणा राखे । देश र ब्यवस्था बचाउनका लागि आगामी फागुन २१ मा हुन लागेको चुनावमा जानुपर्ने स्थिती रहेको उनले प्रष्ट्याए । कांग्रेसले हार्यो भने देश नै नरहने उनले चेतावनी दिदै भने, ‘मुलुकको अहिले जुन परिस्थिती छ, देश संकटमा छ, यस्तो बेलामा निर्वाचन भईरहेको छ, देश रहेन भने राजनीति केही हुदैन, हाम्रो लागि देश प्रमुख हो, हामी राजनीति गर्ने मान्छेको लागि देश प्रमुख हो, हामीले राजनीति देश र जनताको लागि गरेको हो ।’
उनले अगाडी थपे, ‘कांग्रेसले हार्यो भने यो ब्यवस्था रहदैन, त्यसका लागि कांग्रेस जिताउन जरुरी छ, नत्र यो देश युक्रेन र सिरिया जस्तो बन्नेछ ।’ राजनीतिमा सबैको पालो आउने बताउँदै उनले अस्थिर राजनीति गर्ने मान्छे राजनीतिमा धेरै समय टिक्न नसक्ने ठोकुवा गरे । ‘राजनीति ब्यापार ब्यवसाय गरेको जस्तो हुदैन, राजनीति दिनका लागि गर्ने हो,’ राठौंरले भने । राजनीतिलाई सेवाको रुपमा हेर्न नसकेका कारण नेपालका राजनीतिक पार्टीहरु बद्नाम मात्र नभएर ७० वर्ष लगाएर ल्याएको ब्यवस्था नै अप्ठ्यारो अवस्थामा रहेको भन्दै राठौंरले चिन्ता ब्यक्त गरे ।
आफु २०७९ को प्रतिनिधि सभाको सांसद भएर बाँकेको क्षेत्र नम्बर ३ मा धेरै विकासका कामहरु गरेको र राजनीतिक अस्थिरताले गर्दा कतिपय कामहरु चाहेर पनि पुरा गर्न नसकेको उनको भनाई छ । ‘जसरी मलाई विश्वास गर्नु भयो, त्यो विश्वासलाई कायम राख्नु हुनेछ,’ कांग्रेसका निर्वतमान सहमहामन्त्री राठौंरले भने । पार्टीले उठाएको उम्मेदवारलाई जिताउन सबै नेता कार्यकर्तालाई निर्देशन दिदै उनले कसैले घात गरेमा पार्टीले कारबाही गर्ने चेतावनी दिए । पार्टीमा लागेर घात–अन्तरघात गर्नेहरु पार्टी छाडेर जानु नै बेस हुने उनको भनाई छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न उक्त भेलामा बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, कांग्रेसका समानुपातिक उम्मेदवार दुःखीराम लोनियासहित विभिन्न तहमा रहेका नेताहरु लगायतले आफ्नो सुझाव तथा धारणा राखेका थिए ।