नेपालगन्ज : नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले कांग्रेस अहिले बदलिएको र देशलाई बदल्न चाहेको बताएका छन् । पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेस आफु र देशलाई बदल्ने अठोटका साथ आसन्न निर्वाचनको मैदानमा होमिएको प्रष्ट्याए ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारीका सन्र्दभमा निर्वाचन प्रचार-प्रसार समितिले शनिबार आयोजना गरेको जिल्ला स्तरिय बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बाल्मिकीले विगतका निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्तीलाई तोडेर यसपटक कांग्रेसले १ सय ६५ वटै क्षेत्रलाई रुख चिन्हमा मतदान गर्न पाउने गरी उम्मेदवारी दिएको बताए ।
‘विगतका दिनमा कांग्रेसले विभिन्न पार्टीसँग गठबन्धन गर्ने गरेको थियो, हाम्रा साथीहरुलाई कहिले सुर्यमा, कहिले हसिया हतौडामा, कहिले हलोमा मत हाल्न बाध्य पारिएको थियो,’ उनले भने, ‘यसपाली बदलिएको छ कांग्रेस, देशलाई बदल्न चाहन्छ कांग्रेस ।’ आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन पार्टीका नेता, कार्यकर्ताहरुले आ-आफ्ना वडामा समय दिएर लाग्न केन्द्रिय सदस्य बाल्मिकीले निर्देशन दिए । ‘हामी सबैले आफ्नै वडामा ध्यान दिने हो भने नेपाली कांग्रेस विजयी हुन्छ,’ उनले थपे ।
नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेल, जिल्ला सचिव एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुधान्सु कोईराला, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारद्धय दुःखीराम लोनिया र दीपनारायण बर्मा, कांग्रेसका विभिन्न तहमा रहेका पदाधिकारी तथा नेताहरु लगायतले सम्बोधन गरेका थिए, भने कार्यक्रम सञ्चालन लुम्बिनी प्रदेशका सांसद समेत रहेकी जिल्ला सचिव सञ्जुकुमारी चौधरीले गरेकी थिइन् । कार्यक्रममा बाँकेका तीन वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।