बाँके (खजुरा) : नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर ३ मा चुनावी प्रचार अभियानलाई तीब्रता दिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले मंगलबार एकैदिन क्षेत्र नम्बर ३ को खजुरा र सम्झना बजारमा आफ्नो ‘निर्वाचन प्रचार-प्रसार समितिको सचिवालय’ सञ्चालनमा ल्याएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार अमरसिंह पुनले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । बाँके क्षेत्र नम्बर ३ अन्तरगत खजुरा, बैजनाथ र जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ नम्बर वडा पर्छन् । यि क्षेत्रलाई समेट्ने गरी कांग्रेसले आफ्नो निर्वाचन प्रचार-प्रसार समितिको सचिवालय मंगलबार बैजनाथको सम्झना बजार र खजुरा बजारमा एकैसाथ सञ्चालनमा ल्याएको हो ।
सचिवालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार पुनले बदलिएको कांग्रेस देश बदल्ने अभियानका साथ चुनावी मैदानमा उत्रिएको बताए । विगतमा कांग्रेसको योगदान अविस्मरणीय रहेको र अझैपनि कांग्रेसले मात्र देश बनाउन सक्ने बताए । बदलिएको कांग्रेसले यसपटकको निर्वाचनमा १ सय ६५ उम्मेदवार मध्य १ सय ६ जना नयाँ अनुहारलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको प्रदेश सभापति पुनले जानकारी दिए ।

कांग्रेस अहिले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सोचका साथ जनतामाझ आएको उनको भनाई छ । ‘हामी अझैपनि आफ्ना कमी कमजोरीलाई सच्याएर अगाडी बढ्नेछौं,’ पुनले भने । कांग्रेसलाई विजयी गराउन हरेक कार्यकर्ताहरु आ-आफ्नो जिम्मेवारी सम्झेर निर्वाचन प्रचारका लागि आफ्नै वडामा खटिन आग्रह गरे ।
सचिवालय उद्घाटनका क्रममा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार दुःखीराम लोनिया, कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका सांसद बादशा कुर्मी, कांग्रेस क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, प्रतिनिधि सभाका निर्वतमान सांसद आशा बिक, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, नेपाली कांग्रेस प्रदेश सभा-३ ‘क’ र ‘ख’ का सभापतिद्धय केशव शाह र राजेन्द्र आचार्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीको जिल्ला, क्षेत्र, प्रदेश सभा, गाउँपालिका तथा वडा तहका सभापति, पदाधिकारी, नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।
एमाले परित्याग गरी कांग्रेसमा प्रवेश
सचिवालय उद्घाटनका क्रममा एमाले बैजनाथ गाउँपालिका सदस्य मोहम्मद मतिन सल्मानी, एमाले क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्य जोध्या प्रसाद अहिर र नेकपाका वडा कमिटी उपाध्यक्ष उदयराज चमार कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई उम्मेदवार पुनले कांग्रेसमा स्वागत गरे ।