नेपालगन्ज : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ का 'सशक्त' उम्मेदवार सुधान्सु कोईराला वडा, टोलमा पुगेर आर्शिवाद थापिरहेका छन् । उक्त क्षेत्रमा नेपालगन्जका कुल २३ मध्ये वडा नम्बर १६ र १७ बाहेक बाँकी वडाहरु तथा डुडुवा गाउँपालिका पर्दछ ।
चुनावमा पहिलो पटक उम्मेदवार बनेका कोईराला मतदाताबाट पाईरहेको आर्शिवाद र हौसलाले उत्साहित देखिन्छन् । नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनी कांग्रेस बाँकेका सचिव हुन् । उनी पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्वसभापति स्वर्गिय सुशिल कोईरालाका भतिज हुन् । यस्तै नेपाली कांग्रेस बाँकेका पुर्वसभापति किरण कोईराला र स्वर्गिय अरुण कोईरालाका सुपुत्र हुन् । यसअघि सोही क्षेत्रबाट स्वर्गिय सुशिल कोईराला चुनाव लड्दै आएका थिए ।
उनको निधनपछि २०७४ को निर्वाचनमा तत्कालिन संघिय समाजवादीका नेता मोहम्मद इश्तियाक राई र २०७९ को निर्वाचनमा राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणा निर्वाचित भएका थिए । विगतका दुई वटा निर्वाचन परिणाम कांग्रेसको अनुकुल बन्न नसकेपनि यसपटक मतदाताले कांग्रेसलाई नै जिम्मेवारी दिने उम्मेदवार कोईरालाको विश्वास छ । 'विगतका निर्वाचनमा गठबन्धनका कारण चाहेर पनि रुख चिन्हमा मत खसाल्न नपाएको अवस्था थियो, यसपटक यहाँका मतदाताहरु कांग्रेसकै चुनाव चिन्हमा मत खसाल्न पाउनु हुनेछ, हामी जहाँ पुगेका छौं, त्यहाँको रेसपोन्स राम्रो पाईराखेका छौं, ' उनले भने ।
युवादेखी वयस्क र बृद्धहरुको ढुकढुकी बनेका सुधान्सुले पार्टीको बिरासत फर्काउने नेपालगन्जबासीले अनुमान लगाइरहेका बेला उनी वडा, टोलमा पुगेर मत मागिरहेका छन् । आफु जहाँ पुग्दा पनि मतदाताबाट माया र हौसला पाईरहेको उनले सुनाए । ‘म निर्वाचन प्रचारका लागि जहाँ पुगिरहेको छु, मलाई सबैले माया गरिरहनु भएको छ, यसपटक कांग्रेसलाई नै जिताउने कुरा गर्नु हुन्छ,’ कोईरालाले भने ।
निर्वाचन प्रचारकै क्रममा मंगलबार उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ सहित विभिन्न स्थानमा पुगेका थिए । त्यस क्रममा वडा तहका कांग्रेस नेता तथा कार्यकर्ता, सर्बसाधारण नागरिक, विभिन्न धर्म, समुदायका अगुवाहरुले स्वागत गरेको कोईरालाको सचिवालयले जनाएको छ ।