नेपालगन्ज : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बाँकेको समग्र विकाससँगै धर्म, संस्कारको जगेर्ना गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका पुनले यहाँको विकास निर्माण आफ्नो उच्च प्राथमिकतामा रहेको सुनाए ।
नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा बिहीबार गरेको भेटघाटमा बोल्दै उनले भने, ‘यही क्षेत्रमा लुम्बिनी प्राविधिक विश्वविद्यालय रहेको छ, विश्वविद्यालयको जग्गा प्राप्तिसँगै भौतिक पुर्वाधारको कामलाई टुंग्याउनुपर्ने अवस्था छ, कपास विकास समिति र नौवस्ता औद्योगिक क्षेत्रलाई विस्तार गर्नुपर्नेछ, पर्यटकीय क्षेत्रका लागि रुट बनाउनुपर्नेछ ।’ आसन्न चुनावले देशलाई नयाँ बाटोमा लैजाने पनि सभापति पुनले विश्वास गरेका छन् ।
बद्लिदो परिस्थितिमा कांंग्रेसले आमनेपाली नागरिकलाई बुझाएर मुलुकको ब्यवस्था र संविधानको रक्षाका लागि मत माग्नुपर्ने अवस्था रहेको पुनले बताए । ‘कांग्रेसले विस्तृत रुपमा छलफल गरेर उम्मेदवार तय गर्न नसकेपनि यसपटकको निर्वाचनमा १ सय ६ जना नयाँ अनुहारलाई टिकट दिएर मैदानमा उतारेको छ,’ बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका सभापति पुनले भने, ‘पार्टीभित्र केही परिर्वतन भएको छ, सबै परिवर्तन एकै पटक हुने होईन, क्रमिक रुपले हुदै जान्छ ।’ कांग्रेस सबैभन्दा पुरानो पार्टी भएपनि नयाँ विचार र एजेण्डा बोकेको उनले स्पष्ट पारे ।
कांग्रेस लुम्बिनी प्रदेशले उपसभापति राजु खनालको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको जानकारी दिदै सभापति पुनले आफ्ना उम्मेदवार जिताउन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई एकिकृत भएर लाग्न निर्देशन दिए । चुनावमा कांग्रेस उम्मेदवारका विरुद्ध लाग्ने व्यक्तिलाई निर्वाचन परिणाम नआउँदै कारबाही गरिने सभापति पुनले चेतावनी दिए ।
यस्तै नेपाली कांग्रेस बाँकेका सभापति एवम् बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलले कांग्रेसप्रति जनताको विश्वास र भरोसा रहेको बताए । चुनावको मुखमा नयाँ दलहरु खुलेपनि जनताको विश्वास कांग्रेसप्रति नै रहेको उनको भनाई छ । यसपटकको निर्वाचनमा सचेत नागरिकले नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान गरेर विजयी गराउने उम्मेदवार गौडेलले बताए ।
युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, सह-सचिव रेणुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी, महासमिति सदस्य उमा थापामगर लगायत नेता तथा पत्रकारहरु उपस्थित थिए ।