नेपालगन्ज : नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर २ नेपालगन्जमा प्रचार–प्रसार समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । नेपालगन्जको त्रिभुवन चोकमा सञ्चालनमा ल्याइएको उक्त कार्यालयको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले रिवन काटेर उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाँकेमा भएका ठुला विकासका काम तत्कालिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्वसभापति सुशिल कोइरालाको पहलबाट भएको बताए । बाँकेको क्षेत्र नम्बर २ मा भएका अधिकांस ठुला विकास आयोजना स्वर्गिय कोइरालाको पहल कदमीबाट भएको कुरा आफुले स्वयं अनुभुती गरेको बताए ।
स्वर्गिय कोइरालाले बाँकेमा सिक्टा सिंचाई आयोजना, नेपालगन्ज मेडिकल कलेज, भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज-कोहलपुर चारलेन सडक, नेपालगन्जमा सम्पन्न भएको एकिकृत सहरी विकास आयोजना(एडिबी प्रोजेक्ट), भेरी अस्पतालको स्तरोन्नती, राप्ती खानेपानी आयोजना लगायत ठुला विकास योजनाहरु ल्याएको बताए । ‘यो विषयमा हामी जहाँ पनि बहस गर्न तयार छौं, हामी हाम्रो नेताले गरेको विकासको कामको धेरै प्रचार गरेनौं, केही-केहीले आफुलाई विकासप्रेमी भन्दै हिडिरहेका छन्,’ केन्द्रिय सदस्य बाल्मिकीले भने । बाँकेको क्षेत्र नम्बर २ मा अब विकासको नेतृत्व शुधान्सु कोइरालाले गर्ने उनको भनाई छ । कांग्रेसले बदलिदो परिस्थितीसँगै युवा उम्मेदवारलाई अगाडी सारेको संविधान सभा सदस्य बाल्मिकीले बताए ।

यस्तै नेपाली कांग्रेसका प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आफुले गलत काम कहिल्यै नगर्ने र नेपाली कांग्रेसका काम कार्यकर्ता र क्षेत्र नम्बर २ का बासिन्दा कसैको पनि शिर झुक्न नदिने प्रतिवद्धता जनाए । जेन-जी आन्दोलनको म्याण्डेट अनुसार नेपाली कांग्रेस आफुलाई परिवर्तन गरेर नयाँ ढंगले प्रस्तुत भएको युवा नेता कोइरालाले बताए । जेन-जी आन्दोलनपछि नेपाली कांग्रेसले आफुलाई परिवर्तन गरिसकेको र आउँदो चुनावका लागि देशभर १ सय ६ जना नयाँ अनुहारलाई टिकट दिएको बताए । पार्टीमा योगदान पुर्याएका थुप्रै अग्रज नेताहरु भएपनि आफुलाई पार्टीले निर्णय गरेर उम्मेदवारको रुपमा आफुलाई उभ्याएको बताए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, कांग्रेस कृष्णमान श्रेष्ठ, मुस्लिम अगुवा एवम् कांग्रेस नेता निजामुद्धिन अन्सारी ‘छोड्कौं’, कांग्रेस नेता एवम् २०७९ को प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार सुदिपनर सिंह राणा, महासमिति सदस्य लक्ष्मीनारायण शाह, महाधिवेशन प्रतिनिधि रबिन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए ।
बाँके क्षेत्र नम्बर २ का कांग्रेस सचिवालय सदस्य उमा थापामगरले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन सचिवालय संयोजक एवम् क्षेत्र नम्बर २ का सचिव सुनिलसिंह हमालले गरेका थिए । कार्यक्रममा अस्वस्थताका बाबजुद पनि कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, जिल्ला, क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका तथा वडा तहबाट नेता तथा कार्यकर्ताहरु ठुलो संख्यामा उपस्थित भएका थिए ।







