कोहलपुर : नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर १ अन्तरगत रहेको कोहलपुर नगरपालिकाका सबै (१५ वटै) वडामा प्रचार-प्रसार कार्यालय स्थापना गरेको छ ।
कांग्रेसले सबै वडामा सोमबार बेलुकासम्म प्रचार-प्रसार कार्यालय स्थापना गरिसकेको प्रतिनिधि सभा निर्वाचन प्रचार-प्रसार मुल समिति क्षेत्र नम्बर १ बाँकेका सचिवालय संयोजक एवम क्षेत्रीय सचिव जयश्वर पौडेलले जानकारी दिए ।
कोहलपुरका सबै वडामा उत्साहजनक रुपले प्रचार कार्यालय स्थापना भएको र कांग्रेस कार्यकर्ता तथा मतदाताहरुमा एक खालको उत्साह जागेको उनले बताए । संयोजक पौडेलका अनुसार कोहलपुर-८ मा प्रचार कार्यालय स्थापना भएपनि उद्घाटन गर्न भने बाँकी छ । उक्त वडामा २४ गते उद्घाटन गर्ने समय तय गरिएको छ । उक्त कार्यालयबाट पनि प्रचारका कामहरु चलिरहेको उनले बताए ।
मंगलबारदेखि नरैनापुरका वडाहरुमा प्रचार-प्रसार कार्यालय स्थापना गर्ने तयारी रहेको छ । जस अनुसार नरैनापुर गाउँपालिका वडा नम्बर १ मा बिहान १० बजे, वडा नम्बर २ मा दिउँसो १ बजे र वडा नम्बर ३ मा दिउँसो ३ बजे प्रचार कार्यालय उद्घाटन गरिनेछ ।
यसैगरी नरैनापुर- ४ मा २१ गते बुधबार बिहान १० बजे, वडा नम्बर ५ मा बुधबार दिउँसो १ बजे र वडा नम्बर ६ मा दिउँसो ३ बजे प्रचार कार्यालय उद्घाटन गरिनेछ । कांग्रेसले माघ २२ गते बिहीबार देखि राप्ती सोनारीका वडाहरुमा प्रचार कार्यालय उद्घाटन गरिनेछ । कांग्रेसले उक्त क्षेत्रमा नारायणप्रसाद गौडेललाई उम्मेदवार बनाएको छ, भने दिपनारायण वर्मा समानुपातिक उम्मेदवार छन ।
यसैबीच सोमबार बेलुका बसेको सचिवालय बैठकले प्रचार कार्यालय स्थापना भएका वडाहरुमा सक्रिय रुपले आफ्ना उम्मेदवारको पक्षमा मत माग्ने र प्रचारको काम गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।