नेपालगन्ज : राप्ती नदीको कटानबाट हरेक वर्ष प्रभावित हुँदै आएका डुडुवाका स्थानीय बासिन्दाले पक्की तटबन्धको माग गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासँगको भेटमा मंगलबार (आज) डुडुवा गाउँपालिका वडा नम्बर १ कृषि चौफेरी र बोर्डर चौफेरीका स्थानीयले हरेक वर्ष बाढीबाट खेतीयोग्य जमिन कटान, पटान र डुबान हुदै आएको गुनासो गरे ।
भारतले केही वर्षअघि राप्ती नदीमा दुबैतर्फ पक्की तटबन्ध निर्माण गरिदिने भनि गरेको प्रतिवद्धता अहिलेसम्म कार्यान्वयनमा आएको छैन । जसले गर्दा हरेक वर्ष राप्ती नदी आसपासका बाँकेका नागरिकहरु प्रभावित हुदै आएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता भेटघाटका क्रममा डुडुवा पुगेका उम्मेदवार कोइरालासँग त्यहाँका स्थानीयले आफुहरुको समस्या समाधानको पहल गरिदिन आग्रह गरेका हुन् ।
‘भारत सरकारले गरेको प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन तपाईको भुमिका मात्र सार्थक हुनेछ, किनकी तपाई कोईराला परिवारभित्र राजनीतिमा उदाउँदै गरेको युवा पुस्ता भएको नाताले भारतीय पक्षले अवश्य पनि तपाईको पहल कदमीलाई सकारात्मक रुपमा लिनेछ,’ उपस्थित स्थानीयले भने । बाँके क्षेत्र नम्बर २ मा कांग्रेसले शुधान्सु कोइरालालाई यसपटक उम्मेदवार बनाउँदा आफुहरु निकै खुसी भएको भन्दै चौफेरीका स्थानीयले जितका लागि अग्रिम शुभकामना तथा बधाई दिएका थिए । सो क्रममा उम्मेदवार कोइरालाले आफु सांसदमा निर्वाचित भएपछि भारतीय पक्षसमक्ष कुरा राखेर सम्झौता कार्यान्वयन गराउने र सधैंका लागि राप्तीको कटान समस्या अन्त्य गराउने प्रतिवद्धता जनाएका थिए ।
यस्तै डुडुवा गाउँपालिका अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य नरेन्द्रकुमार चौधरीले राप्ती नदीमा पक्की तटबन्ध निर्माणका लागि भारतसँग भएको सम्झौता कार्यान्वयन कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मात्र गराउन सक्ने बताए । स्थानीय सरकारले आफ्नो वार्षिक बजेटबाट सडक, बाटो, नाला, कल्भर्ट लगायत पुर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायत क्षेत्रमा काम गरेपनि राप्ती नदीको कटान रोक्नका लागि संघिय सरकारको बजेट वा बाह्य देशको सहयोगबाट मात्र सम्भव भएको बताए । कांग्रेस उम्मेदवार कोइराला सहितको टोली भेटघाटका लागि डुडुवाका अन्य वडाहरुमा पुग्दा पनि स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।