कोहलपुर : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले बाँके क्षेत्र नम्बर १ अन्तर्गत राप्तीसोनारीमा बिहीबार दुई वटा वडामा प्रचार-प्रसार कार्यालय स्थापना गरेको छ। पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा वडा नं. ६ र ७ मा पार्टीको प्रचार–प्रसार कार्यालय स्थापना गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए।
उनका अनुसार वडा नं.६ को गुलरी र वडा नं. ७ को झगडियामा प्रचार-प्रसार कार्यालय सञ्चालनमा ल्याइएको हो। वडा नं.६ मा काँग्रेस वडा सभापति मदन बुढाको सभापतित्वमा भएको कार्यक्रममा पार्टी सभापति तथा प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद गौडेल, समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी लगायतका नेताहरूले सम्बोधन गरेका थिए।
कार्यक्रममा महासमिति सदस्यहरू चिन्तामणि धिताल, लुटबहादुर खत्री, महाधिवेशन प्रतिनिधि कृष्ण विक, प्रजातन्त्र सेनानी संघ बाँकेका सचिव डिल्ली रावत लगायतको उपस्थिति रहेको थियो। यसैगरी वडा नं.७ मा वडा सभापति दशरथ कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा पनि पार्टी सभापति तथा प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद गौडेल, समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, क्षेत्रीय सभापति पोषण केसी, राप्तीसोनारी गाउँपालिकाका सभापति भीम राना, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई लगायतका नेताहरूले सम्बोधन गरेका थिए।
कार्यक्रममा जिल्ला सदस्य देव खाँड, क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, प्रदेश ‘क’ का सभापति अमरबहादुर बुढाथोकी लगायतका नेताहरू उपस्थित भएका थिए। भोलि शुक्रबार वडा नं.३, ४ र ५ मा प्रचार-प्रसार कार्यालय स्थापना गरिने पार्टीका प्रवक्ता गिरीले जानकारी दिए । प्रचार कार्यालय स्थापनाका लागि पुगेका गौडेलले स्थानीयसँग पनि भेटघाट गर्ने र त्यसक्षेत्रका समस्या सुन्ने गरेका छन् ।