नेपालगन्ज : प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएर मैदानमा उत्रिएका पुर्वउपमेयर कमरुद्धिन राई मतदाता भेटघाटमा ब्यस्त भएका छन् । उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवार छन् ।
दैनिक रुपमा घरदैलोमा निस्केका उनी आफ्नो अभियान उत्साहजनक बन्दै गएको बताए । डुडुवा गाउँपालिकाका विभिन्न टोल-बस्तीमा शुक्रबार सञ्चालन गरिएको घरदैलो अभियानमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता र आत्मिय स्वागतले आफुप्रति बढ्दो जनसमर्थन झल्किएको देखिएको उनले सुनाए ।
राईले डुडुवाको बेतहनीस्थित अमृतपूर्वा, बाबागाउँ, उचवा हलबल डोली तथा खलवा हलबलडोली लगायतका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए । घरदैलो क्रममा स्थानीय बासिन्दाले उनलाई न्यानो स्वागत गर्नुका साथै आफ्ना समस्या, सुझाव र अपेक्षा खुलेर राखेका थिए । राईले मतदाताको समस्या सुन्दै उनीहरुको विश्वास र साथलाई आफ्नो चुनावी यात्राको ऊर्जा भएको बताए ।
घरदैलोका क्रममा विभिन्न उमेर समूहका मतदाताले उम्मेदवार राईलाई शुभेच्छा तथा आशीर्वाद प्रदान गरेका थिए । मतदाताबाट प्राप्त समर्थन र हौसलाले आफ्नो आत्मविश्वास अझ मजबुत भएको बताउँदै राईले मधेस तथा मधेसी समुदायको अधिकार सुनिश्चित गर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको बताए ।
डुडुवा क्षेत्रका धेरै बासिन्दाले विगतदेखि ओझेलमा परेका स्थानीय समस्या समाधानका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको बताउँदै राईबाट आशा व्यक्त गरेका थिए । घरदैलो कार्यक्रममा सहभागी ८५ वर्षीय स्थानीय ज्येष्ठ नागरिक अमिखा प्रसादले उम्मेदवार राईप्रति विश्वास व्यक्त गर्दै भने, ‘हामीले यस्तो उम्मेदवार पाएका छौं, जसले हाम्रो दुःख–सुख बुझ्ने प्रयास गरिरहेका छन् ।’