नेपालगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठले मंगलबार आफ्नो बाचापत्र सार्वजनिक गरेका छन् । नेपालगन्जमा एक औपचारिक समारोहका बीच उम्मेदवार श्रेष्ठले बाचापत्र सार्वजनिक गरे । बाचापत्रमा उनले भ्रष्टाचार उन्मूलन र सुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।
उम्मेदवार श्रेष्ठले बाचा पत्रमा बाँके जिल्लाको समग्र विकासका लागि गरिने कार्यहरु, बाँके क्षेत्र नम्बर २ को विकासका लागि गरिने कार्यहरु, लुम्बिनी प्रदेश सरकारसँग समन्वयमा गरिने कार्यहरु, नेपालन्ज उपमहानगरपालिकासँग समन्वय गरेर गरिने कार्यहरु र डुडुवा गाउँपालिकासँग समन्वय गरेर गरिने कार्यहरुको बुँदागत रुपमा योजनाहरु समेटेका छन् । पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सडक, कृषि, पशुपालन, रोजगारी लगायतका एजेण्डालाई राखेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा आधारभुत पूर्वाधार (सडक, ढल, खानेपानी) सुदृढीकरण, भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न संघीय पहल, नेपालगन्जलाई पश्चिम नेपालकै प्रमुख स्वास्थ्य हबका रुपमा विकास गर्ने, सिमावर्ती ब्यापार, भन्सार र खुल्ला सिमाबाट सिर्जित चुनौती समाधानका लागि संघीय नीति पहल लगायत योजना समेटिएको छ ।
सो क्रममा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै उम्मेदवार श्रेष्ठले पार्टीले उठाएका एजेण्डा र जनताको माग अनुसार आफुले काम गर्ने प्रतिवद्धता जनाए । रास्वपा बाँकेका सभापति हरिपाल सिंह केसीको सभापतित्वमा सम्पन्न भएको बाचापत्र सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेश महामन्त्री निलराज अधिकारीले स्वागत गरेका थिए, भने कार्यक्रम सञ्चालन बाँके क्षेत्र नम्बर २ का निर्वाचन परिचालन समिति संयोजक बुद्धिसागर सुवेदीले गरेका थिए ।
