राप्ती सोनारी : चुनावी माहोल तात्दै जाँदा शिक्षासँग जोडिएका मुद्दालाई केन्द्रमा राख्दै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले शिक्षकका मागहरुलाई कानुनी रुपमै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा आयोजित नेपाल शिक्षक संघ राप्ती सोनारीको आठौं स्थानीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै गौडेलले शिक्षक समुदायसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्ने नीति आफूहरुको रहेको बताए । ‘शिक्षकका मागहरु केवल आश्वासनले होइन, कानून बनाएरै सम्बोधन गरिन्छ,’ उनले भने, ‘समस्या बुझ्न शिक्षकसँगै बसेर समाधान खोज्नुपर्छ, त्यो हाम्रो प्राथमिकता हो ।’
संसदमा बिचाराधिन शिक्षा ऐन पारित गराउन नेपाली कांग्रेसकै नेतृत्वबाट मात्र सम्भव हुने गौडेलले दाबी गरे । शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि उक्त ऐन अपरिहार्य रहेको बताउँदै उनले कांग्रेसलाई जिताउन मतदातासँग आग्रह गरे । ‘कांग्रेस बदलिएर आएको छ, देश बदल्ने संकल्पका साथ अघि बढेको छ भन्ने कुरा आम नागरिकसम्म पुर्याउन आवश्यक छ,’ उनले भने । गौडेलले शिक्षक संघलाई पनि वर्तमान परिस्थितिबारे आम नागरिकलाई सचेत बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरे ।
नले पार्टीका नेता–कार्यकर्ता र समर्थकहरुलाई एक ढिक्का भएर चुनावी अभियानमा जुट्न आब्हान गर्दै मतदातालाई ‘मुख हेरेर होइन, रुख हेरेर भोट हाल्नुहोस्’भन्ने सन्देश घरघरमा पुर्याउन आग्रह गरे । उक्त कार्यक्रम नेपाल शिक्षक संघ राप्तीसोनारीका अध्यक्ष दलबहादुर ओलीको अध्यक्षता एवम् राप्ती सोनारी गाउँपालिकाका कार्यबाहक अध्यक्ष मनिषासिंह थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री, महासमिति सदस्य महाबीर ओली, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पवन यादव, संघ लुम्बिनी प्रदेशका सल्लाहकार दोर्ण ओली लगायतले पनि आफ्नो धारणा राखेको शिक्षक संघ राप्ती सोनारीका सचिव खडानन्द डाँगीले जानकारी दिए ।