राप्ती सोनारी : नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद गौडेलले पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई उत्सासहपूर्ण तरिकाले चुनावी अभियानमा होम्मिन आग्रह गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका ७ गेदवा नयाँ बस्तीमा घरदैलो अघि वडा कार्यालयले आयोजना गरेको सभालाई सम्वोधन गर्दै उनले बदलिएको काँग्रेसले यो पटक रुख चिन्हमै मतदान गर्ने सुनिश्चितता गरेसँगै कार्यकर्ताहरुमा पनि उत्साह जाग्नु पर्ने बताए ।
‘बदलिएको काँग्रेसले यो पटक रुखमै मतदान सुनिश्चित गरेको छ, अब कार्यकर्तामा पनि त्यही जोश देखिनुपर्छ,' उनले भने–‘यसअघि गठबन्धनका नाममा फरक–फरक चिन्हमा भोट हाल्यौं, तर अहिले त्यो संस्कृति भंग भएको छ । रुख चिन्हमा केन्द्रित भएर जनताको घर-घरमा पुग्नु हाम्रो पहिलो जिम्मेवारी हो । समयको चापले म सबैको घरमा पुग्ने अवस्था छैन । तपाईहरु सबै घरघरमा पुगेर रुखमा भोट हाल्ने वातावरण बनाउनुहोस् ।’ उनको आवाजमा केवल भाषणको औपचारिकता थिएन । बरु गाउँ–बस्तीका वास्तविक पीडा र आशा मिसिएको भाव झल्किन्थ्यो । ‘जनताको पीर–मर्का बुझ्ने पार्टी काँग्रेस नै हो उनले थपे–‘भावना र उत्तेजनामा नबग्नुस्, अलमलमा नपर्नुहोस् जनताको सेवा गर्ने पार्टी नै काँग्रेस हो । यो कुरा प्रत्येकको घरघरमा गएर हाम्रो बुझाउनुहोस् ।’
जेनजी विद्रोहपछि बदलिएको पार्टी भनेकै काँग्रेस भएको गौडेलको भनाइको भनाइ छ । वडा सभापति दशरथ कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी र समानुपातिक उम्मेदवार दीप नारायण वर्माले पनि मन्तव्य राख्दै काँग्रेसको ‘नयाँ रूपान्तरण’ को कुरा उठाए । र, काँग्रेसलाई मत दिन आग्रह गरे ।
क्षेत्रीय सभापति पोषण केसीका अनुसार राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ का टेपरी र सिधनहवा, तथा वडा नं. ७ का गेदवा नयाँ बस्ती, पिपरहवा, लालपुर, उचवा झगडिया लगायतका बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरिएको छ ।
घरदैलो टोलीमा पूर्व सांसद ज्ञानु केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, नेता हुर्मत न्यौपाने, महाबीर ओली, डिल्ली गिरी लगायतको सक्रिय सहभागिता थियो ।