नेपालगन्ज : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच रणनीतिक चुनावी तालमेल तथा कार्यगत एकता गर्ने औपचारिक सहमति भएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. १ र २ मा प्रलोपा र जसपाबीच एकताको औपचारिक सहमति भएको हो । आइतबार सम्पन्न संयुक्त बैठकपछि दुवै दलका जिल्ला नेतृत्वले जारी गरेको सहमति-पत्रमा देशमा देखिएको राजनीतिक ध्रुवीकरण, ‘जेन्जी’ विद्रोहपछिको विकसित परिस्थिति तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ साझा पहल आवश्यक भएको उल्लेख गरिएको छ।
संसदीय अभ्यासलाई सुदृढ बनाउँदै बाँकको विशिष्ट राजनीतिक अवस्था र मतदाताको अपेक्षालाई ध्यानमा राखी चुनावी सहकार्य गर्ने निर्णय गरिएको जनाइएको छ। सहमति अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर १ मा प्रलोपा का आधिकारिक उम्मेदवार कृष्णा केसीको चुनाव चिन्ह ‘आँखा’ लाई जसपा नेपालले औपचारिक समर्थन गर्नेछ ।
उक्त क्षेत्रमा दुवै दलका कार्यकर्ता तथा संगठनात्मक संरचनाहरू साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा परिचालन हुने जनाइएको छ।त्यस्तै, बाँके निर्वाचन क्षेत्र नम्बर २ मा जसपा नेपालका आधिकारिक उम्मेदवार कमरुद्दीन राईको चुनाव चिन्ह ‘छाता’ लाई प्रलोपाले समर्थन गर्ने सहमति भएको छ ।
सो क्षेत्रमा पनि साझा उम्मेदवारको पक्षमा एकीकृत अभियान सञ्चालन गरिने छ। सहमति–पत्रमा निर्वाचन प्रचारप्रसारका क्रममा एक–अर्काको विचार, सिद्धान्त, झन्डा र संगठनात्मक अस्तित्वप्रति उच्च सम्मान कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साझा उम्मेदवारलाई आफ्नै दलको उम्मेदवार सरह आत्मसात् गर्दै राष्ट्रिय निर्माणको साझा लक्ष्यतर्फ अघि बढ्ने घोषणासमेत गरिएको छ। प्रलोपा बाँके जिल्ला अध्यक्ष दीपक शर्माले जिल्लाको राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि तालमेल आवश्यक भएको उल्लेख गर्दै यस सहकार्यले चुनावी प्रतिस्पर्धालाई स्वस्थ र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे ।
जसपा नेपाल बाँके जिल्ला अध्यक्ष कौशल कुमार धोबीले वर्तमान चुनौतीपूर्ण राजनीतिक परिवेशमा समान विचारधाराका शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको जनाउँदै संयुक्त प्रयासले जनतामा सकारात्मक सन्देश जाने बताए । दुवै दलबीच भएको यस रणनीतिक तालमेलले बाँकेका दुई निर्वाचन क्षेत्रमा चुनावी समीकरणमा नयाँ आयाम थपिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।