नेपालगन्ज : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन आचार संहिता कार्यान्वयन गराउन चुनौतीपूर्ण रहेको सम्वद्ध सरोकारवालाले जोड दिएका छन् । सामाजिक सञ्जाल र एआईको प्रयोगका कारण आचार्य संहिता उल्लंघनका गतिविधि भइरहेको उनीहरुको जोड छ ।
बेसको ब्यवस्थापनमा संवाद समुह लुम्बिनी प्रदेशले नेपालगन्जमा मंगलबार आयोजना गरेको निर्वाचन आचार संहिता कार्यान्वयन विषयक संवाद कार्यक्रममा बोल्ने अधिकांसले निर्वाचन आचार संहिता पालना गराउन निर्वाचन आयोग नै अलमलमा परेको पाइएको बताए ।
संवाद समुहका वरिष्ठ सहजकर्ता सुशिल बस्नेतले सहजीकरण गरेको उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भने अहिलेसम्म आचार संहिता पालनामा बाँके जिल्ला अगाडी रहेको दाबी गरे । निर्वाचन आचार संहिता पालना गराउन सरकारी निकाय स्थलगत अनुगमनमा रहेको उनले जानकारी दिए । ‘बाँकेमा ठूला घटनाहरु भएका छैनन, सुरक्षाको अवस्था कस्तो छ भन्ने कुराको मुल्यांकन यहाँहरुले गर्ने कुरा हो,’ प्रजिअ तामाङले भने । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी प्रमुख द्धारिका अधिकारीले निर्वाचन सम्बन्धी आचार संहितालाई पूर्ण रुपले कार्यान्वयन गराउनुपर्ने बताइन् ।
नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारीले आचार संहिता पालनामा राजनीतिक दल र उम्मेदवार आफै संयमित हुनुपर्ने बताए । ‘बाँकेको हकमा राजनीति दल र उम्मेदवारका बीचमा असमझदारी र तिक्तता देखिदैन, दलको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका पुर्ण रुपले पालना गर्ने म प्रतिवद्धता ब्यक्त गर्छु,’ उनले भने ।
नेकपा एमाले बाँकेका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेशका सांसद रत्न खत्रीले आफ्नो पार्टीले एउटा दल बाहेक अरु सबैसँग समन्वय गरेर प्रचारको काम गरिरहेको बताए । ‘विशेषगरी म क्षेत्र नम्बर ३ मा खटिएको छु, हाम्रो क्षेत्रमा एउटा दल बाहेक प्रायः सबैसँग समन्वय हुन्छ, उहाँहरु र हामीले आपसमा सल्लाह गरेर प्रचारको काम गरिरहेका छौं,’ उनले भने ।

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का पार्टी प्रतिनिधि तारा केसीले फागुन २१ गते निर्वाचन हुने निश्चित भइसकेको बताउँदै कतिपय दलमा दम्भ र हुंखार रहेको औल्याए । निर्वाचनमा नयाँ र पुराना पार्टीको बीचमा भिडन्तको अवस्था रहेको उनले सुनाए ।
एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश प्रमुख बसन्त गौतमले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदी निर्वाचनका लागि चुनौती देखिएको बताए । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणि आचार्यले निर्वाचनका बेलामा मतदाता शिक्षा महत्वपूर्ण हुने बताए । इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले निर्वाचनको समयमा नागरिकलाई सुरक्षाको अनुभुति दिलाउन सक्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निर्वाचनको अनुगमन गर्ने सरकारी निकायको भूमिका माथी प्रश्न उठाए । निर्वाचन आचार संहिता विपरित गतिविधि गर्ने मिडियालाई कारबाही हुने उनले बताए । जेन-जी युवा चन्द्रलाल जैशीले कतिपय राजनितिक दलले भोट माग्दा जनतालाई ब्ल्याकमेल गरिरहेको पाइएको बताए । यस्तो गतिविधिलाई नियन्त्रण गर्न अहिलेसम्म कोही तयार नदेखिएको उनको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवम् संवाद समुहका सहजकर्ता शुक्रऋषि चौलागाई, उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष पवनकुमार गुप्ता, अधिवक्ता प्रह्लादबहादुर कार्की, लोकबहादुर शाह, गैससकर्मी नमस्कार शाह, टेकराज जैसी लगायतले पनि आफ्नो धारणा राखेका थिए ।
