नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बृहत् र्याली गरेको छ । पार्टी कार्यालय बसपार्कबाट सुरु भएको र्याली बाइपास रोड, कारकादो, पुष्पलाल चोक, धम्बोझी, वीपी चोक, गणेशमान चोक, चारबाहिनी, अस्पताल रोड, त्रिभुवन चोक, सदरलाइन रोड, न्युरोड, सेतुविक चोक हुँदै बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
शहरका प्रमुख चोक-चौराहा परिक्रमा गरेको उक्त र्यालीमा हजारौँको संख्यामा नेता-कार्यकर्ता तथा समर्थकको सहभागिता रहेको आयोजकले जनाएको छ । झण्डा, नाराबाजी र उत्साहपूर्ण उपस्थितीले नेपालगन्जको चुनावी माहोललाई थप सक्रिय बनाएको देखिन्थ्यो ।
कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार मन्जु कोइरालाले जनताको अधिकार, सामाजिक न्याय र विकासको एजेन्डालाई प्राथमिकतामा राख्दै पार्टीको प्रतिबद्धता दोहोर्याइन् । उनले संगठनको एकता र जनसमर्थनलाई आगामी राजनीतिक दिशाको आधार भएको बताइन् ।
त्यसैगरी बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले विकास, रोजगारी, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारका विषयमा आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गरे । उनले नेपालगन्जलाई समावेशी, समृद्ध र अवसर मूलक सहरका रूपमा अघि बढाउने अठोट व्यक्त गरे ।
र्यालीमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, बाँके इन्चार्ज तथा पूर्व उपसभामुख पुर्णा कुमारी सुवेदी, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेश्वर गहतराज (अथक), केन्द्रीय सदस्य अकल बम, बेद प्रसाद आचार्य, डम्बर बहादुर थापा, प्रदेश सह-संयोजक अब्दुल खाँन, सचिवालय सदस्य डिल्ली बराल (अमिर), गेहराज शर्मा (नवीन), समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा, जामिया खातुन लगायत केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता-कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।