नेपालगन्ज : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गरेर नेपालगन्जका मधेसी तथा मुस्लिम महिला र युवतीलाई मतदाता शिक्षा दिइएको छ । महिला, कानून र विकास मञ्चको सहयोगमा साथी संस्थाले बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा मतदाता शिक्षा दिएको हो ।
उक्त कार्यक्रममा करिव ५० जना मधेसी तथा मुस्लिम महिला र युवतीलाई मतदाता शिक्षाबारे अभिमुखिकरण गरिएको थियो । उनीहरुलाई मतपत्रबारे जानकारी, मतदान गर्ने र मतपत्र पट्याउने तरिका, निर्वाचन आचार संहिता, मतदाताको अधिकार, मतदान गर्न जादाँ अपनाउनुपर्ने साबधानी लगायत विषयमा अभिमुखिकरण गरिएको हो ।
साथी संस्थाका कार्यकारिणी केन्द्रिय सदस्य सरस्वती शर्माले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर मतदान गर्ने, मतपत्र पट्याउने लगायत विभिन्न तरिका सिकाइएको बताइन् । उक्त कार्यक्रममा सहभागी महिला र युवतीलाई मतदानबारे अभ्यासका लागि नमूना मतदान गराइएको थियो ।

साथी संस्थाको पुर्नस्थापना गृहका वार्डेन एवम् स्रोत ब्यक्ती रेवती चौधरीका अनुसार करिव ५० जना महिला र युवतीले मतदान गर्न र मत पेटिकामा मतपत्र राख्न सक्षम भएका छन् । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष कलिम अहमद जोलाहले साथी संस्थाले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम एकदमै प्रभावकारी बनेको बताए ।
‘हाम्रो यो वडामा मधेसी र मुस्लिम समुदायको बसोबास छ, यहाँका महिला र युवतीहरुको शैक्षिक अवस्था कमजोर छ, त्यसकारण उनीहरु मतदान गर्दाखेरी बदर गर्ने सम्भावना थियो, यो कार्यक्रम भएपछि धेरै राहत मिलेको छ,’ उनले भने ।

