नेपालगन्ज : नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले नरैनापुरको शैक्षिक सुधार आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । नरैनापुर गाउँपालिका वडा नं. २ रोशनपुरुवामा आज घरदैलोमा पुगेका गौडेलले नरैनापुर शिक्षाको दृष्टिकोणबाट पछाडि परेको आफूले पाएको भन्दै नरैनापुरको शैक्षिक गुणस्तर सुधार आफ्नो प्राथमिकतामा रहेको बताए ।
उनले भने–‘हाम्रो प्रतिवद्धता-पत्रमै नरैनापुरमा प्राविधिक धारको नमूना विद्यालयमा रुपान्तरण गरी कार्यक्रम संचालन गर्न पहल गर्ने उल्लेख गरिसकेका छौं । म निर्वाचित भए त्यसलाई कार्यान्वयनमा ल्याउनेछु ।’ उनले नरैनापुर गाउँपालिकामा पालिका अस्पतालको स्तरोन्नतिको प्रतिवद्धता पनि जनाएका छन् ।
मतदाताहरुले आफ्नो क्षेत्र शिक्षा र स्वास्थ्यबाट अत्यन्तै पछाडि परेको गुनासो सुनाउने गरेका छन् । त्यसको जवाफमा गौडेलले आफ्नो प्रतिवद्धता-पत्रमै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेकाले सुधारका लागि पहल गर्ने बताएका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले काँग्रेस बदलिएर आएको र बदलिएको काँग्रेसले देश समेत बदल्ने बताए ।
सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र शहरी विकास, कृषि, उद्योग, व्यापार र रोजगारी आफ्नो प्राथमिकतामा रहेको पनि उनले बताए । नरैनापुर गाउँपालिका वडा नं. २ का काँग्रेस वडा कार्यसमितिका सभापति अकवाल अलि शेषको नेतृत्वमा रोशनपुरुवा, लक्ष्मणपुर लगायतका स्थानमा घरदैलो गरिएको छ ।
घरदैलोमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, काँग्रेस लुम्विनी प्रदेश सदस्य ईसाक जोलाह, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, पूर्व क्षेत्रीय सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, पार्टी प्रवक्ता डिल्ली गिरी लगायतका नेताहरु सहभागी छन् ।