नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का स्थानीयले यस पटक आफ्नो मत बदल्ने उद्घोष गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट बाँके, क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला समक्ष मतदाताले यस्तो उद्घोष गरेका हुन् ।
घरदैलोका क्रममा शनिबार बिहान वडा नम्बर ८ मा उम्मेदवार कोइराला पुगेका बेला मतदाताहरुले मत बदल्ने भन्दै ढुक्क हुन आश्वस्त पारे । बाँकेको क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महत्वपूर्ण वडाको रुपमा चिनिन्छ । उक्त वडाका मतदाताहरु पनि जितका लागि निर्णायक मानिन्छन् ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा यहाँका मतदाताले नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई सभासदमा निर्वाचित गराएर पठाएका थिए । कोइराला निर्वाचित भएपछि बाँके जिल्लाले इतिहासमै पहिलो पटक प्रधानमन्त्री पाएको थियो ।
प्रधानमन्त्री कोइरालाकै नेतृत्वमा २०७२ सालमा देशले संविधान पाएको थियो । कोइरालाको पहलबाट नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अर्बौं रुपैयाँको एडिबीको आयोजना, राप्ती खानेपानी आयोजना लगायतका ठूला विकासका कामहरु अगाडि बढेका थिए । त्यस अघि पनि कोइरालाको पहलबाट बाँकेमा सिक्टा सिंचाइँ आयोजनासहित थुप्रै विकासका पूर्वाधारहरु आएका थिए ।
पूर्व प्रधानमन्त्री कोइरालाको निधनपछि भने बाँके क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले लगातार १२ वर्षदेखि संसदमा प्रतिनिधित्व गर्न पाएको छैन । २०७४ र २०७९ को निर्वाचनमा कांग्रेस बाहेक अरु दलले चुनाव जिते पनि अपेक्षाकृत रुपले काम हुन नसकेको र त्यसबेला कांग्रेसको अभाव खड्किएको अहिले मतदाताहरु बताइरहेका छन् ।
‘सुशील कोइरालाको निधन भएपछि हाम्रो क्षेत्र अभिभावक बिहिन जस्तै बन्न पुग्यो, २०७४ र २०७९ मा हामीले लहडमा लागेर अरु पार्टीलाई चुनाव जितायौं,’ नेपालगन्ज–८ का एक स्थानीयले भने, ‘यस पटक हामी मत बदल्छौं, यस पटक हामी कांग्रेसलाई नै जिताउँछौं, तपाईं (शुधान्सु) युवा पनि हुनुहुन्छ, यो क्षेत्रले साँच्चिकै खोजेको प्रतिनिधि हुनुहन्छ, चुनाव जित्नेमा ढुक्क हुनुहोस् ।’ स्थानीय बासिन्दाको कुरा सुनेपछि उम्मेदवार कोइराला उत्साहित हुँदै आफू सांसद भएपछि जनताका समस्यालाई सडक र सदनमा बोलिरहने प्रतिबद्धता जनाए ।
नेपालगन्ज ८ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासँगै वडा सभापति निजामुद्धिन सिद्धिकी ‘मुन्ना’, कांग्रेस नेता एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, महासमिति सदस्य निजामुद्धिन अन्सारी ‘छोड्कौ’, पार्टीका नेता प्रहलाद लखेर, बीरेन्द्र बहादुर शाह, बन्दना सिंह लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।