नेपालगन्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले पक्षधरता नदेखाउन अपील गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, मानवअधिकारको प्रत्याभुति र नागरिक सशक्तीकरणको उत्कृष्ट अवसरका रूपमा लिन सकिने बताउँदै पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले सो अपील गरेको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा विश्वसनीय बनाउन सञ्चारकर्मीसहित सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको जनाउँदै महासंघ लुम्बिनीका महासचिव पाण्डव शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचनको सरगर्मी बढिरहेका बेला सञ्चारकर्मीहरू आफ्नो पेशागत दायित्व निर्वाहका लागि अहोरात्र क्रियाशील रहेको उल्लेख गरिएको छ ।
निर्वाचनका प्रक्रिया र विविध आयामबारे पत्रकार जानकार, सचेत र जिम्मेवार हुन आवश्यक रहेको जनाइएको छ । उक्त विज्ञप्तीमा महासंघ लुम्बिनी प्रदेश समितिले पत्रकार, सञ्चार माध्यम तथा सम्बद्ध सबैलाई विशेष ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण र सफल बनाउन पत्रकार तथा सञ्चार माध्यमहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध पक्षले पनि सहज वातावरण सिर्जना गर्नुपर्ने बताइएको छ ।
पत्रकारहरूलाई सहज र तथ्यगत रिपोर्टिङ गर्ने अवस्था बनाइनुपर्नेमा जोड दिँदै पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) को पूर्ण पालना अनिवार्य रहेको र निर्वाचन आयोग नेपालद्वारा जारी निर्वाचन आचार संहिता, २०८२ समेत पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने जनाइएको छ ।
समितिले सञ्चारकर्मीसहित सम्बद्ध सबै सरोकारवालालाई विभिन्न बुँदामा हार्दिक अपिल गर्दै मतदानको गोपनीयता कायम राख्न, मतदाताको व्यक्तिगत विवरण वा मत परिणाम पूर्वानुमान गर्ने गरी कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको व्यक्तिगत चरित्र हत्या गर्ने, घृणा फैलाउने, जातीय, धार्मिक वा क्षेत्रीय द्वेष भड्काउने तथा भ्रमपूर्ण सूचना फैलाउने समाचार वा सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ ।
तथ्य जाँच (फ्याक्ट चेक) गरेर मात्र समाचार सम्प्रेषण गर्न, सामाजिक सञ्जालमा आएका सूचना वा सामग्रीमा भर नपर्न र अफवाह वा असत्य सूचनाबाट टाढा रहन पनि अनुरोध गरिएको छ । सञ्चार माध्यमहरूले निर्वाचनसम्बन्धी समाचारलाई सन्तुलित, निष्पक्ष र तथ्यपरक बनाउँदै सबै पक्षको आवाजलाई समान स्थान दिनुपर्ने, निर्वाचन प्रक्रियालाई प्रभावित गर्ने गरी कुनै पनि प्रकारको प्रचारप्रसार वा राजनीतिक पक्षधरता नदेखाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी समाचार संकलन र सम्प्रेषणकै आधारमा पत्रकारलाई त्रसित बनाउने, मानसिक वा भौतिक दबाब दिने तथा सूचना प्रवाहमा अवरोध पु¥याउने कार्य कसैले पनि नगर्न आग्रह गरिएको छ । सञ्चार माध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझेमा कानूनी उपचार खोज्न वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने जनाइएको छ । मतदान केन्द्र, मतगणना स्थल वा अन्य संवेदनशील क्षेत्रमा रिपोर्टिङ गर्दा व्यक्तिगत सुरक्षा मापदण्ड अपनाउन, जोखिमपूर्ण अवस्थामा सतर्क रहन तथा आवश्यक परे महासंघको प्रदेश वा जिल्ला शाखा वा प्रहरी प्रशासनसँग सम्पर्क गर्न पनि समितिले अनुरोध गरेको छ ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति निर्वाचन अवधिभर पत्रकारहरूको सुरक्षा, आचार संहिता पालना तथा स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको दबाब, धम्की वा असुरक्षा महसुस भएमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ ।